काठमाडौं ।
कोरोना महामारीका कारण साढे पाँच महिनादेखि बन्द रहेका सिनेमा हल घटस्थापनाबाट सञ्चालनमा आएपनि प्रदर्शनका लागि नेपाली फिल्म नहुँदा विदेशी फिल्म चलाएर हल खुलेका छन् । तर, मंगलवारबाट भने दर्शकले हलमा नेपाली फिल्म हेर्न पाउने भएका छन् । दशैं विदालाई लक्षित गर्दै फूलपातीबाट फिल्म ‘डाँडाको बर पीपल’ प्रदर्शनमा आएको छ ।
मल्टीप्लेक्समा राम्रो शोज पाएको यो फिल्मले सिनेमा हलसम्म दर्शकको भीड तान्ने अपेक्षा गरिएको छ । प्रदर्शनको अघिल्लो दिन सोमवार काठमाडौंको ‘वान सिनेमाज्’ मा फिल्मको प्रिमियर गरिएको थियो । जहाँ फिल्मकर्मीहरुले फिल्मको कथावस्तु र कलाकारहरुको अभिनयको प्रशंसा गरेका थिए ।
शोभित बस्नेत निर्देशित फिल्मले जातका कारण प्रेममा आउने अवरोध र दुई पुस्ताबीच देखिएको दूरीको कथा फिल्ममा समेटिएको छ । फिल्ममा अघिल्लो पुस्ताका तीन सुपरस्टार शिव श्रेष्ठ, भुवन केसी र गौरी मल्लको अभिनय छ । शिव र गौरीको छोराको भूमिकामा सलोन बस्नेत देखिएका छन् भने उनको अपोजिटमा रुविना थापाले अभिनय गरेकी छन् । नवराज गिरीले फिल्मको निर्माण गरेका हुन् ।


















