• सुदिप गिरी 

हल्दिबारी । 

भद्रपुर, बिर्तामोड नगरपालिका र हल्दिबारी गाउँपालिकाको शिरमा रहेको चारैतिर जंगलले घेरिएको बीचमा ठूलो पोखरी देखिने हल्दिबारीको भेलागडी पार्क पछिल्लो समय आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गएको छ ।

चन्द्रगढीदेखि करिव दुई किलोमिटर पश्चिम हाल हल्दिबारी –२ स्थित भेलागडी सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा पर्ने पार्कमा पर्यटकलाई आकर्षित गर्ने संरचना निर्माणसँगै आन्तरिक पर्यटकको गन्तब्य बन्न पुगेको हो ।

हल्दिबारी गाउँपालिका, प्रदेश सरकार र संघिय सरकारको संयुक्त लगानी निर्मित पार्कमा पर्यटक लोभ्याउने वोटिङ, स्थानीय स्रोतको प्रयोग गर्दै बनाइएको टिकटिक घर, लोभ हुदै गएको नमुना काठे पुल, स्थानीय सांस्कृतिक भ्युटावर, विभिन्न भगवान् मुर्तिहरू, सुबिधा सम्पन्न पाँच सय जनासम्म आट्ने सभाहल, ब्यवस्थित शौंचालय जस्ता पुर्वाधार तयार भएसँगै आन्तरिक पर्यटकको आकर्षण बढेको हो । 

बेला बेलामा यस क्षेत्रमा आन्तरिक पर्यटन बढाउने हिसाबले मेला र महोत्सब समेत आयोजना गर्ने गरिएको छ । पर्यटक बढेसँगै भौतिक संरचना बढाउँदै लैजाने लक्ष्य रहेको छ । भेलागुडी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नारायण लुईटेलले जिल्लाकै पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्ने गरी स्थानीय तहको समन्वयमा र वन समूहको सक्रियतामा पार्क बनाइएको बताए ।

 हल्दिबारी गाउँपालिका उपाध्यक्ष डम्बर बहादुर गिरीले भने ‘तीन वटा स्थानीय तहको केन्द्रमा भएकोले हामी यस पार्कलाई एक नमूना पर्यटकीय क्षेत्र बनाउने गरी लागि परेका छौँ, यो एक उत्कृष्ट पिकनिक स्पट पनि हो ।’

 यसका लागि स्थानीय सरकार त दिनरात लागेकै छ,  प्रदेश र संघीय सरकारको थप सहयोगको अपेक्षा गरेका छौँ ।’ हरियाली जङ्गलले घेरिएको स्थलमा पार्क तल्लो भागमा छ ।  बगेको पानी पोखरीमा जम्मा हुने गरेका कारण बाह्रै महिना पानी रहने गरेको स्थानीयबासी होम बस्नेत बताउँछन् । पर्यटकलाई व्यवस्थित गर्न विभिन्न पसल होटलसमेत सञ्चालनमा आएका छन् । जसले रोजगारीको समेत बाटो खुल्दैछ । पोखरीमा बोटिङको मज्जासँगै माछा समेत हेर्न पाइन्छ । दाँया बायाँका भागमा फुलहरू रोपेर रमणीय बनाइएको छ ।

 पार्क नजिक बिभिन्न स्तम्भहरू रहेका छन् भने पोखरीको बिच भागमा शिव भगवान बिराजमान छन् । नजिकै देउनिया नदि बगिरहेको छ । पार्कमा पिकनिक खान आउनेहरू काठे पुलमा जाने फोटो खिच्ने, भ्यूटावरमा जाने विभिन्न गाउँ बस्तीका रमाइलो दृश्यले मनमोहित हुने र फोटो खिच्ने गर्दछन् । सेल्फि रोडझैं रोड छ जहाँ दुबै तर्फ सखुवाको रूखहरू लाईननै मिलेर रहेका देखिन्छन् । हिउँद लागेसँगैं दैनिक सयौंको सङ्ख्यामा स्थानीय पर्यटक रमाइलो गरी फर्कने गर्दछन् । 

पार्कमा रमाइलो गर्नेकै लागि हल्दिबारी बाहेक चन्द्रगढी, बिर्तामोड  र भद्रपुरबाट सर्वसाधरण आउने गरेको समूहका अध्यक्ष लुईटेलको भनाइ छ । यो ठाउँ हल्दिबारीको नयाँ पर्यटकीय केन्द्रको रुपमा विकास हुँदै गएको छ । यो पर्यटकीय स्थल अरुदिन भन्दा छुट्टी र शनिवारका दिन वढी पर्यटक आउने गरेको अध्यक्ष लुईटेलले जानकारी दिए ।