• उद्धव पुरी 

चेप्टी, इलाम । 

इलामको माई नगरपालिका वडा नं. २ स्थित चेप्टीमा जैबिक विविधता र स्वच्छ वातारणमा ‘हेप्पी ड्रिम्स चेप्टी’ पर्यटकीय स्थल स्थापना भएको छ । 

कनकाई नगरपालिका ३ स्थित सुरुड्गाको सेल्फी डाँडाको सफलतापछि स्थानीयतह तथा स्थानीयबासीसँग समन्वय गरेर ब्यवसायी दिनेश शिवाकोटीले दुईसय रोपनी क्षेत्रफल जग्गामा  वातारणमैत्री पर्यटकीय स्थल सञ्चालनमा ल्याएका हुन् । 

हेप्पी ड्रिम्सको ४० प्रतिशत काम सम्पन्न भइसकेको सञ्चालक शिवाकोटीले बताएका छन् । एक अर्वको लगानीमा निर्माण हुँदै गरेको हेप्पी ड्रिम्समा ३२ करोड लगानी भइसकेको उनले बताए । 

‘हेप्पी ड्रिम्स निर्माण सुरु हुनु अघि सो स्थानमा एक रोपनी जग्गा एक लाखदेखि एकलाख ५० हजार रुपैयाँमा पाइदै गरेको थियो’ स्थानीय इश्वरबहादुर अधिकारीले भने ‘हेप्पी ड्रिम्सको कार्य सुरु भएदेखि एक रोपनी जग्गाको मूल्य १२ लाखवढि भएको छ ।’ उनले ड्रिम्स सुरु हुन अघि वाटोघाटोको समस्या हुँदै आएको बताउँदै गाउँमा कोही विरामी भए बोकेर लानु पर्ने बाध्यता भएका बताए । 

 ‘हेप्पी ड्रिम्सको कार्य सुरु भएपछि बाटोघाटोको सुविधा र घरमै एम्बुलेन्स आउन थालेको छ’ उनले भने ‘स्थानीयले रोजगारी पाएका छन्, हामी खुसी छौं, यो प्रोजेक्ट यस गाउँको विकासका लागि वरदान सावित भएको छ, गाउँको विकासले फड्को मार्दै गएको छ ।’ 

हाइवेदेखि ५ देखि ६ किलोमिटरमा रहेको उक्त पर्यटकीय स्थल बिर्तामोडबाट करिव २५ किलोमिटर रहेको छ । माइखोलाको किनारमा रहेको हेप्पी ड्रिम्समा सेल्फी झिलको ३० प्रतिशत कार्य सम्पन्न भएको छ । सेल्फी झिलमा १६०० फिट लम्वाई र जमिनदेखि १४ फिट उचाई भएको वाल निर्माण हुँदैछ भने फन पार्कतर्फ ६० प्रतिशत कार्य सम्पन्न भएको छ । फन पार्कको खोलाको किनारमा ९०० लम्वाई र जमिनदेखि ३४ फिट उचाई भएको ग्रेटवाल निर्माण भइरहेकोे सञ्चालक शिवाकोटीले जानकारी दिए । पाँचथर, इलाम र झापालगायतका ५ सयदेखि ७ सय जनालाई रोजगारी दिएकोे सञ्चालक शिवाकोटीले बताएका छन् । 

माईखोला आफै धार्मिक स्थल भएको बताउँर्दै सञ्चालक शिवाकोटीले भने ‘हेप्पी ड्रिम्स चेप्टीसँगै धार्मिक पयंटकीय स्थलको पनि विकास गरिनेछ छ ।’ उक्त प्रोजेक्ट सफल भए दोमुखादेखि उक्त पर्यटकीय स्थलसम्म केवलकारसमेत सञ्चालन गरिने उनले बताए ।  फन पार्क एरिया आउदो माघ १ गतेदेखि सञ्चालनमा आउने छ भने सेल्फी झिल बैशाख १ गतेबाट सञ्चालनमा आउने तयारी गरेको सञ्चालक शिवाकोटीले जानकारी दिए । हाललाई २ सय रुपैयाँ प्रवेश शुल्क तोकिएको बताउँदै समयानुसार बढाउँदै जाने उनले बताए । 

हेप्पी ड्रिम्स चेप्टीमा घोडा सवारी, बालबालिकाका लागि प्लेन, पिङ, पिकनिक स्पट, बोटिङ, १८० फिट अग्लो झरना, आकर्षक हिमाल, हिमलबाट बग्ने झरना, रक गार्डन, डान्सिङ कटेज, आकर्षक गार्डेन, साथै मुर्तिकलाहरु ड्राइगन, हात्ति, जेब्रालगायत मनोरञ्जनात्मक बालबालिकाहरुले हेर्ने तथा खेल्ने साधनहरु रहेका छन् । निर्माण सम्पन्न भइसकेपछि उक्त पर्यटकीय स्थलमा आउने पर्यटकले मिराकललाई समेत विर्सने सञ्चालक शिवाकोटीले बताएका छन् ।

३ सय जनाले एकै पटक अवलोकन गर्न सक्ने सेल्फी डाँडा तयार भइसकेको र डाँडा वरिपरी वोटिङ व्यवस्थापन गरिने उनले बताए । नेपाली नयाँ बर्ष बैशाख १ गते एकलाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य रहेको सञ्चालकले बताए ।  जीप लाइनको कार्य भइरहेको बताउँदै सञ्चालक शिवाकोटीले यो प्रोजेक्ट सम्पन्नसँगै केवलकारको पनि काम अगाडि बढाइने बताएका छन् । 

भिडियो पनि