विर्तामोड । 

सारेगमप लिटल चेम्स नेपालकी बिजेता कृपा पौडेललाई विर्तामोडको व्यवसायीहरुको छाता संगठन विर्तामोड उद्योग बाणिज्य संघले सम्मान गरेको छ ।

कृपाका बुवाले विर्तामोडमा कम्निकेशन संचालन गर्दै आएका छन्, संघको सदस्यसमेत रहेकाले उनकी छोरी कृपालाई सम्मान गरिएको संघका वरिष्ठ उपाध्यक्ष हाल कार्यवहाक अध्यक्ष राजु न्यौपानेले बताए ।

सम्मान कार्यक्रमममा बोल्दै न्यौपानेले भने ‘साँगीतिक क्षेत्रमा कृपाले प्राप्त गरेको राष्ट्रिय स्तरको उपाधीले विर्तामोड उद्योग बाणिज्य संघको पनि गौरब बढेको छ, कृपा जिताउ अभियनमा संस्थागत रुपमा बाणिज्य संघ पनि आवद्ध रहेर कृपाको लागि भोट अपील गर्ने काम संघको तर्फबाट गरिएको थियो, फल स्वरुप आज हामि सबैको प्रयास सफल भएको छ, आगामी दिनमा पनि कृपालाई निरन्तर सहयोग गर्दै जाने छौं ।’

देश विदेशबाट सहभागी ३५ हजार प्रतिष्पर्दीलाई  पछि पार्दै प्रथम बन्न सफल कृपालाई आज एक कार्यक्रमका बिच संघका पदाधिकारीहरुले सम्मान गरेको थियो ।

सम्मान कार्यक्रममा संघकी महिला जनसम्पर्क उपाध्यक्ष नैनकला भट्टराईले स्वागत गरेकी थिइन, सतिव कुशल खतिवडाले सम्मान पत्र बाचन गरेका थिए भने कृपा जिताउँ अभियनका सचिव माधव कल्पितले कृपालाई बधाई दिदै अवको यात्राको लागि कसरी अघि बढनेबारे मार्ग निर्देन प्रदान गरेका थिए।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष कुमार भट्टराई, कार्यक्रमका अध्यक्ष राजु न्यौपाने लगायतले सम्मान गरेका थिए ।शुक्रबार गृहजिल्ला झापा आईपुगेकी कृपालाई विभिन्न संघ संस्थाहरुले सम्मानका कार्यक्रम दिनहुँ जस्तो गरिरहेका छन् । शुक्रबार नै कृपा जिताउ अभियानसहित ३६ वटा संघ संस्थाहरुले कृपालाई संयुक्त रुपमा सम्मान गरेका थिए भने आजै विहान साहित्य चौतारी झापाले पनि उनलाई सम्मान गरेको छ ।