• उमेश भारती

 दानाबारी । 

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था दानाबारी सेवा केन्द्रले संस्थाको २७ औं बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । 

सेवा केन्द्रले सोमबार बार्षिकोत्सवका अवसर पारेर दानाबारीमा आयोजना गरेको रक्तदान कार्यक्रममा एकसय एक पिन्ट रगत संकलन गरेको हो । 

रक्त सञ्चार गृह दमकको प्राविधिक सहयोगमा आयोजना गरिएको रक्तदान कार्यक्रममा उक्त रगत संकलन भएको सेवाकेन्द्र प्रमुख त्रिलोचन तिम्सिनाले जानकारी दिए ।  

सोही कार्यक्रमकाबीच मृतक सदस्य देशमति दमिनीको परिवारलाई २ लाख र श्रीमानको निधनपछि सदस्य बिमाया पोर्तेललाई ५० हजार रुपैयाँ ऋण मिनाह गरिएको थियो । उक्त रकम कार्यक्रमका प्रमुख अतिथि तथा माई नगरपालिकाका मेयर दीपककुमार थेबेले हस्तान्तरण गरेका हुन् । त्यस्तै सफल उद्यमीका रुपमा सदस्य देवकुमारी मगर र बिष्णुमाया एक्तेनलाई सम्मान गरिएको छ । 

नेपाल रेडक्रस सोसाइटी दानाबारी उपशाखाका सभापति मित्रप्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सेवाकेन्द्रका कर्मचारी राजेन्द्र शेर्माले गरेका थिए । संस्थाको बस्तुस्थिति बारे दुधेका अनुगमन अधिकृत चुडामणि कट्टेलले जानकारी गराएको कार्यक्रममा कार्यक्रमको औचित्यमाथि प्रकाश सेवा केन्द्र प्रमुख तिम्सिनाले पारेका थिए । 

कार्यक्रमको सञ्चालन रेडक्रस दानाबारी उपशाखाका सचिव हरिप्रसाद गुरागाई र सेवा केन्द्र कर्मचारी अम्बर लिम्बुले संयुक्त रुपमा गरेका थिए ।