बिर्तामोड । 

बचत तथा ऋण सहकारी संघ झापाको आयोजनामा बिर्तामोडमा सहकारीका बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । संस्थाले शनिवार सहकारीका सन्दर्भमा पछिल्लो अवस्था र भावी योजनामा केन्द्रित अन्तरक्रिया तथा छलफल कार्यक्रम गरेको थियोे । 

बचत तथा ऋण सहकारी संघ झापाका अध्यक्ष युवराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेफ्स्कूनका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यरहेको थियो भने कार्यक्रममा महासचिव घनश्याम अधिकारी र कार्यकारी प्रमुख शिवजी सापकोटाको विशेष आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन संघका सचिव विनोद ढकालले गरेका थिए । 

कार्यक्रममा नेपाल सरकारका विभिन्न सरोकारवाला निकायहरूले जारी गरेका निर्देशन तथा सहकारी क्षेत्रमा देखिएका समसामयिक विषयमा केन्द्रित रहेर छलफल गरिएको थियो । छलफलका क्रममा सहकारी संस्थाहरूको संस्थागत सुदृढीकरण, व्यवस्थापकीय क्षमता अभिवृद्धि, संस्थागत विकास तथा सहकारी अभियानको दिगोपनाका विषयमा विचार आदानप्रदान गरिएको थियो ।

सहकारी क्षेत्रका वर्तमान चुनौतीलाई सामूहिक प्रयासबाट सम्बोधन गर्दै संस्थाहरूलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन आवश्यक रहेकोमा सहभागीहरूले जोड दिएका थिए । कार्यक्रमले सहकारी क्षेत्रको सुदृढीकरण, संस्थागत विकास र समृद्धिका लागि आपसी सहकार्य, एकता र साझा प्रतिबद्धताका साथ निरन्तर अघि बढ्ने संकल्पसमेत गरेको आयोजक संस्थाका सचिव विनोद ढकालले जानकारी दिए ।