• चन्द्र बस्नेत 

सुरुङ्गा । 

नेपाली आधुनिक संगीतका लोकप्रिय तथा व्यस्त गायक प्रमोद खरेल पहिलोपटक आफ्नो औपचारिक ब्यान्डसहित दर्शकमाझ प्रस्तुत हुने भएका छन् । गायक खरेलले आफ्नै आधिकारिक ब्यान्डसहित लाइभ कन्सर्ट गर्न लागेका हुन् । भोलि चैत २५ गते झापाको झिलझिलेमा रहेको वाटर किंगडम पार्क एन्ड रिसोर्टमा खरेलले ब्यान्डसहित प्रस्तुति दिने  वाटर किंगडम पार्कका संचालक सौजनराज सग्रौलाले जानकारी दिए।

नेपाली सुगम संगीतमा फरक स्थान बनाएका गायक खरेलले यसअघि भारतको आसाममा भएको ‘डेइजिङ फेस्टिभल’ मा ब्यान्डसहित प्रस्तुति दिईसकेका छन्  । नेपालबाट त्यहाँ सहभागी हुने खरेल पहिलो गायक थिए । उनलाई त्यहाँको नेपाली समुदायको पहलमा बोलाइएको थियो । एसियाका लोकप्रिय कलाकारहरुको प्रस्तुति रहने डेइजिङ फेस्टिभल आसामको सरकारी निकायबाट आयोजना भएको कार्यक्रम हो । कार्यक्रममा बलिउडबाट विशाल शेखार, नीति मोहन, मिका सिंहलगायतले प्रस्तुति दिइसकेका छन् ।

झिलझिलेमा उनले ब्यान्डको म्युजिकसँगै पुराना तथा नयाँ गीतहरु गाउँने गायक प्रमोदले आफ्ना हिट गीतहरुलाई चैत २५ को साँझ ६ बजेदेखि हुने कन्सर्टमा प्रस्तुत गर्ने बताइएको छ । त्योसँगै पुराना लोक तथा नेपाली संस्कृति झल्कने गीतलाई पनि उनले प्राथमिकता दिने उनको भनाइ रहेकोे छ। उनका पछिल्ला गीतहरु बाटो, नोगेन, छाती चिरेर युट्युबमा ट्रेन्डिङमा पर्दै आएका छन् । कन्सर्टमा समेत प्रमोद नेपाल र विदेशमा अत्यधिक रुचाइएका गायकमा पर्छन् । 

२०५६ सालमा निर्दोषी मायालु गीतबाट नेपाली सुगम संगीतमा प्रवेश गरेका प्रमोद झापा बनियानीका स्थायी बासिन्दा हुन् । पहिलो एकल एल्बमले नै चर्चामा आएका खरेलले कहिल्यै पछाडि फर्किनु परेको छैन । खरेलका हालसम्म तीन हजार गीत तथा गजल रेकर्ड भएर बजारमा आएका छन् । भोलि हुने कन्सर्टमा स्थानीय तथा अन्य रास्ट्रिय चर्चित कलाकारहरुको साथ समेत रहने संचालक सग्रौलाले जानकारी दिए।