बिर्तामोड । 

सामाजिक कथा वस्तुमा आधारित नेपाली कथानक लघु चलचित्र ‘कोइला’ को निर्माण कार्य सम्पन्न भएको छ । युनिक मिडिया हाउसको व्यानरमा तयार भएको लघु चलचित्र कोइला मा कलाकार बन्ने सपना लिएर गाउँदेखि शहर पसेको र उसले गरेको संघर्षको कथालाई मुख्य बिषय बस्तु बनाइएको छ ।

राज शेर्माको लेखन तथा निर्देशन रहेको उक्त लघु चलचित्रमा मिस झापा २०२१ कि फस्ट रनरअप सविना वस्नेत साथै आदर्श लिम्बु, राजन निरौलाको अभिनय रहेको छ ।  

साथै परिवारबाट एक्लिएको एक व्यक्तिको जीवन ब्यथा पनि यस लघु चलचित्रमा समेटिएको  निर्देशक राज शेर्मा बताउँछन् । उनका अनुसार रात सबैको भाग्यमा हुन्छ तर निन्द्रा नहुन सक्छ, कतिपय अवस्थामा राम्रो कलाकारहरु सहि ठाँउ नपाएर बिलाएर गएका छन् भन्ने तितो यथार्थलाई  चित्रण गर्न खोजिएको छ ।

नगेन धिमालले छायाङकन गरेको लघु चलचित्र ‘कोइला’ झापाको बिर्तामोडका विभिन्न स्थान समेटिएको छ । आगामी असार १७ गते लघु चलचित्र कोइला को प्रदर्शन गरिने निर्देशक शेर्माले बताए ।