बिर्तामोड ।

 नेपाली फिल्म  ‘प्रकाश’ भदौ १० गतेदेखि देशभरका सिनेमा हलहरुमा प्रदर्शन हुने भएको छ । आइतबार (आज) बिर्तामोडमा पत्रकार भेटघाटका क्रममा चलचित्रका अभिनेता प्रदिप खड्कासहितको टोलीले भदौं १० गतेदेखि देशभरका सिनेमा हलहरुमा प्रदर्शन हुने जनाएको हो । 

दिनेश राउतको निर्देशनमा बनेको फिल्ममा हालसम्म चकलेटी हिरो र लबर ब्वाइको भूमिकामा पर्दामा देखिँदै आएका अभिनेता प्रदीप खड्का  ‘प्रकाश’ मा भने फरक भूमिकामा देखिने भएका छन् ।

  फिल्म प्रकाशमा सुदूरपश्चिमको एउटा आम शिक्षकले गर्ने संघर्षको कथाको छोटो अंश देख्न सकिने अभिनेता खड्काले बताए ।  सुदूरपश्चिमेली भाषा, परिवेशको पाटोमा पनि फिल्मले काम गरेको उनको भनाई छ । फिल्म प्रकाश करिब २ करोड ५० लाखको लगानीमा निर्माण भएको अभिनेता खड्काले बताए । कार्यक्रममा अभिनेता खड्कासँगै  कालाकार दिया मास्के र रानु योगीको समेत उपस्थिति रहेको थियो । 

चलचित्रमा अभिनेता प्रदीप खड्काले सुदूरपश्चिम क्षेत्रका एक शिक्षकको भूमिका निर्वाह गरेको बताए। प्रदीपसँगै चलचित्रमा दिया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रानु योगी, हुम बिसीलगायतका कलाकारको अभिनय रहेको छ। विकास सुवेदीको लेखनमा रहेको सो फिल्मका निर्माता महेन्द्र अधिकारी हुन्।