बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ५ स्थित बुधवारे (देबीहाट) बजारका व्यवसायीले बिर्तामोड उद्योग बाणिज्य संघको पहलमा बिद्युत बाल्न पाएपछि उनीहरुको मुहार हँसिलो भएको छ । 

बजारमा पिङ्की भङगट र पेश्किला अधिकारीको नाममा दुईवटा मिटर जडान भएर बिजुलीबत्ति वाल्न पाएपछि ब्यवसायिहरु खुसी भएका हुन् । बुधवारे (देबीहाट) बजार ब्यवसायिक समितिले मंगलबार (आज) बिजुलीबत्ती उद्घाटनसँगै बिर्तामोड उद्योग बाणिज्य संघलाई व्यसायिकको उचित मागलाई सम्बोधन गरी साथ सहयोग गरेकोप्रति धन्यवाद दिएका हुन् । 

बिजुलीबत्तीको उद्घाटन संघका अध्यक्ष प्रकाश शिवाकोटी, बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, उपाध्यक्ष सञ्जिव घिमिरे, कोषाध्यक्ष राधिका चुडाल, सदस्य जीवन खड्का, विशाल थापालगायतले संयुक्त रुपमा गरेका छन् । 

केही समयअघि व्यवसायीको जायज मागलाई नगरपालिकाले सम्बोधन नगरेको भन्दै संघले नौ दिनसम्म आन्दोलनमा व्यवसायीहरुलाई साथ र सहयोग गरेको थियो । उक्त आन्दोलनमा प्रहरी प्रशासनले संघका केही पदाधिकारी तथा सदस्य र आन्दोलित बजारका ब्यवसायिलाई धरपकड समेत गरेको थियो । 

बुधवारे (देबीहाट) बजार ब्यवसायिक समिति अध्यक्ष उमेश अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा संघका अध्यक्ष प्रकाश शिवाकोटीको प्रमुख आतिथ्य रहेको थियो । स्वागत व्यवसायी गरिमा राइले गरेको कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष तथा कार्यक्रममा बिशिष्ट अतिथि राजु न्पौपानेले शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रममा बोल्दै बरिष्ठ उपाध्यक्ष न्यौपानेले पार्टी, जाती र बर्ग भन्दा माथि उठेर नगरले सवैलाई सम्मान न्याय गर्न आग्रह गरे । उनले पार्टी, राजनीति भन्दा पनि व्यवसायीको हकहितको लागि संघले उनीहरुको जायज माग देखेर उनीहरुलाई साथ  र सहयोग गरेको बताए । 

न्यौपानेले गाँस, बास र कपासको अधिकार राज्यबाटै पाएको नागरिकले बिजुलीबत्ती बाल्न पाउने अधिकारबाट बञ्चित हुन नपरोस् भन्ने उदेश्यले व्यवसायीको कुरा नगरले नसुनेपछि साथ दिनु परेको बताए ।  उनले विकास गर्ने पक्षमै संघ भएको बताउँदै व्यवसायीको पनि उचित ब्यवस्थापन गर्नु पर्नेमा जोड दिए ।