बिर्तामोड ।  

झापाको बिर्तामोड नगरपालिकाले सडक सामुदायिक कुकुर बन्ध्याकरण शिविर शुरु गरेको छ । पशुपंछि तथा मत्स्य विकास शाखाको आयोजनामा शनिबारदेखि शिविर सञ्चालन भएको हो ।

शिविरको नगरप्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गरेकी हुन् । हिमालयन एनिमल रेस्क्यु ट्रस्ट (हार्ट)को प्राविधिक सहयोगमा शिबिर असोज ६ गतेसम्म सञ्चालन हुनेछ । 

नगरपालिकाले २०७२ सालदेखि हरेक वर्ष सामुदायिक कुकुर वन्ध्याकरण शिविरको आयोजना गर्दै आएको छ । यस पटक दुइ सय ५० वटा कुकुरको बन्ध्याकरण गर्ने योजना रहेको पशुपंछि तथा मत्स्य विकास शाखाकी प्रमुख सावित्रा दाहालले जानकारी दिइन् ।

शिविर उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईले सामुदायिक कुकुरमा लागेको रेबिज रोगका कारण केहि समय अघि नगरका २, ८ लगायत विभिन्न वडामा पशु चौपायमा क्षति पुगेको बताइन् । उनले कुकुर वन्ध्याकरणका लागि प्राविधिक टिम बाहिरबाट नै मगाउनु पर्ने भएकाले धेरै सहज नभए पनि हरेक वर्ष यो शिविर सञ्चालन गर्दै आएको बताइन् ।

कार्यक्रममा बोल्दै हार्ट नेपालका निर्देशक खगेश्वर शर्मा भट्टराईले सडक सामुदायिक कुकुरको न्युनिकरण र रेविज उन्मुलनका लागि विश्वमा बन्ध्याकरण बाहेक अरु कुनै विधि नरहेको बताए । उनले  बिर्तामोडमा वर्षमा २ पटकसम्म वन्ध्याकरण शिविरको आयोजना गर्नु पर्ने  आवश्यकता रहेको बताए ।  

नगरभित्र रहेका सामुदायिक कुकुरहरुको सर्वे गरेर तथ्याङ्क संकलन गर्ने योजना बनाई रहेको पशुपंछि तथा मत्स्य विकास शाखाले जनाएको छ । शिविर उद्घाटन कार्यक्रममा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, कृषि शाखा प्रमुख राजेन्द्र प्रसाद कडरिया, शाखा अधिकृत मेघराज बाँस्तोला लगायतको उपस्थिति रहेको थियो ।