बिर्तामोड । 

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ११–स्थित बिर्तामोड बस पार्कमा रहेको पाथिभरा इन्जिनियरिङ कलेजले सम्बन्धन पाएको छ । सञ्चालनका लागि तयारी अवस्थामा रहेको कलेजले १२ बर्षपछि सम्बन्धन प्राप्त गरेको सोमवार (आज) कलेजमा आयोजित पत्रकार भेटघाटका क्रममा सञ्चालकले जानकारी गराएका हुन् । कलेजले पूर्वाञ्चल विश्वबिद्यालयबाट सम्वन्धन प्राप्त गरेको हो ।

सम्वन्धन प्राप्तसँगै कलेजमा सिभिल, इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरिङका कक्षा सञ्चालन हुने कलेजका अध्यक्ष युवराज प्रसाईले बताए । झापामा इन्जिनियरिङका लागि सम्बन्धन प्राप्त हुनु झापाबासीका लागि खुसीको कुरा भएको उनले बताए । 

‘१२ बर्षपछि खोला फकिन्छ भन्ने पुरानो उखान छ’ अध्यक्ष प्रसाईले भने ‘१२ बर्षपछि भएपनि कलेजले सम्बन्धन ल्याउन सफल भएको छ ।’ सिभिल, इलेक्ट्रोनिक्स र कम्प्युटर शिक्षा लिनका लागि काठमाडौं र अन्य मुलुक जानु नपर्ने बाध्यता भएको अध्यक्ष प्रसाईले बताए । अध्यक्ष प्रसाईका अनुसार अन्य स्थानमा भन्दा शुल्क पनि कम हुनेछ । प्रसाईले सवै राजनीतिक दल, सामाजिक ब्यक्तित्वलगायत सवैको साथ र सहयोगका कारण ढिलै भएपनि कलेजले सम्बन्धन ल्याउन सफल भएको बताएका छन् । 

कक्षा सञ्चालनका लागि दुईवटा भवन र ४० वटा कक्षा कोठा तयार रहेको कलेजका सिओ अनुज पराजुलीले जानकारी दिए । सिओ पराजुलीका अनुसार बिद्यार्थीले आगामी कार्तिक ७ गतेसम्म आवेदन फारम भर्नु पर्ने र कलेजमै सम्पूर्ण भौतिक पूर्वाधार भएकाले कार्तिकको अन्तिम साताबाट इन्ट्रान्स हुनेछ । 

इन्जिनियरिङ कलेजका लागि आवश्यक सम्पूर्ण उपकरण र सामाग्री साथै अनुभवी शिक्षक तथा शिक्षिका भएकाले आगामी मंसिरदेखि कक्षा शुरु हुने सिओ पराजुलीले बताएका छन् । 

pathivara collage