सुरुङ्गा । 

रोटरी क्लव अफ सुरुङ्गाले विपन्न समुदायका बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । रोटरीले कनकाई नगरपालिकाको एक विद्यालयमा अध्ययनरत ५५ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।

साक्षरता अभियानलाई सफल वनाउँने कार्यमा क्रियाशिल रहँदै आएको रोटरी क्लवले कनकाई नगरपालिका २ स्थित पञ्चकन्या प्राविमा अध्ययनरत वालवालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो । नर्सरीदेखी कक्षा तीनसम्म पठनपाठन हुँदै आएको उक्त विद्यालयको शैक्षिक स्तर वृद्धिका लागि आगामी दिनमा समेत रोटरी क्लवले सहकार्य गर्दै अघि बढ्ने क्लवका अध्यक्ष खेम प्रसाईँले वताएका छन् ।

ग्रामिण क्षेत्रमा रहेर विभिन्न समस्याहरुलाई सहज बनाउँने प्रयासमा अघि बढेको यस विद्यालयले अंग्रेजी माध्यमलाई समेत अभ्यासका रुपमा संचालन गर्दै लगेको विद्यालयका प्रधानाध्यापक रञ्जीता श्रेष्ठले वताएकी छन् । सामाजिक क्षेत्रमा विभिन्न गतिविधी संचालन गर्दै अघि बढेको रोटरी क्लव जस्तो अन्तर्राष्ट्रिय मान्यता प्राप्त सामाजिक संस्थासँगको सहकार्यले विद्यालयको चौतर्फी विकासमा थप सहयोग पुग्नेछ भन्ने कुरामा विद्यालय परिवार विश्वस्त रहेको विद्यालयका प्रधानाध्यापक  श्रेष्ठले जनाएकी छन् ।

 विद्यालयमा एउटा मात्र  राहत दरवन्दीमा शिक्षिका रञ्जीता श्रेष्ठ कार्यरत छिन् । ज्यादै न्युन पारिश्रमीकमा विद्यालयको कर्मचारीका रुपमा लीला मगर रहेकी छन् भने वालविकास तर्फ मीना दहाल कार्यरत छिन् । तल्लो तहका कर्मचारी साथै वालविकासमा कार्यरत शिक्षकशिक्षिकाहरुलाई राज्यले सरकारी सेवासुविधा दिनु पर्ने माग गर्दै शिक्षिका दहालले सेवा संचालनसँगै सरकारले सुविधाको पनि व्यवस्था गर्नु पर्नेमा जोड दिएकी छन् । दहालले स्थानीय सरकारका रुपमा रहेको कनकाई नगरपालिकालाई पञ्चकन्या प्राविप्रति ध्यान केन्द्रित गर्न अुनरोध गरिन् ।

कार्यक्रमका संयोजक क्लवका सहसचिव रामप्रसाद निरौलाले स्वागतसहित औचित्यमाथि प्रकाश पारेका थिए । सचिव मेनुका उप्रेतीले सञ्चालन गरेको शैक्षिक सामाग्री वितरण कार्यक्रममा क्लवका निवर्तमान अध्यक्ष सुशिलकुमार श्रेष्ठ, पुर्वअध्यक्ष कुमारमणि पोखरेललगायत उपस्थिती रहेको वताइएको छ ।