बिराटनगर।

अदालतबाट बिभिन्न मुद्धामा कैद तथा जरिवाना फैसला भएर फरार रहँदै आएका दुई जना फरार प्रतिवादीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको छ ।

चोरी मुद्धामा जिल्ला अदालत मोरङको २०७८।१२।१० गतेको सजाय निर्धारण फैसला आदेशले ५ महिना २ दिन कैद र ५ हजार रुपैयाँ जरीवाना तोकिएका विराटनगर महानगरपालिका–१५ का ३१ बर्षीय रमेश भन्ने ओम प्रकाश साहलाई आइतवार (आज) पक्राउ गरेको हो ।

त्यसैगरी लागू औषध गाँजा मुद्धामा सुनसरी जिल्ला अदालतको मिति २०७८।०१।१४ गतेको सजाय निर्धारण फैसला आदेशले १० महिना २३ दिन कैद र ५ हजार रुपैयाँ तोकिएका धरान उप–महानगरपालिका–१६ का ३४ बर्षीय किरण धिमाललाई समेत आजै पक्राउ गरेको हो ।

पक्राउ परेका दुबै जनालाई जिल्ला अदालतमा उपस्थित गराईएकोमा तोकिएको कैद सजाय भुक्तानको लागि जिल्ला कारागार पठाएको प्रदेश प्रहरीले जनाएको छ ।