मेचीनगर । 

झापाको मेचीनगरका पत्रकाहरुले स्थानीय तहका जनप्रतिनिधिले पत्रकारिता क्षेत्रलाई धुमिल बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । प्रेस क्लब मेचीनगरद्धारा सोमबार काँकरभिटामा आयोजित शुभकामना आदानप्रदान एबम् प्रशिक्षण कार्यक्रममा सहभागी पत्रकारले सञ्चार माध्यममा सूचना प्रसारण प्रकाशन गर्नु पर्नेमा जनप्रतिनिधिले सामाजिक सञ्जालमा सूचना पोष्ट्याएको भन्दै आपत्ति जनाएका हुन् । 

प्रेस क्लब मेचीनगरका अग्रज पत्रकार जीएन शर्माले जनप्रतिनिधिले कार्यालयको सूचना समाजिक सञ्जालमार्फत पोष्ट गरेको भन्दै सूचनाको हकबाट सर्वसाधरणलाई बञ्चित गराउने काम भएको बताए । उनले पत्रिका र अन्य सञ्चार माध्यममा प्रकाशन प्रशारण गर्न माग गर्दा समेत वडा कार्यालयले सूचना नदिएकोे भन्दै सञ्चारमाध्यमको मर्मलाई बुझिदिन समेत प्रमुख अतिथि मेचीनगरका मेयर गोपालचन्द्र बुढाथाकीलाई आग्रह गरे । 

जवाफमा प्रमुख अतिथि बुढाथाकीले नगर र सबै वडा कार्यालयलाई व्यवस्थित गर्न आफू लागेको बताए । नगरको प्रेस संयोजक नियुक्तिको तयारी भइरहेको जानकारी दिर्दै मेयर बुढाथाकीले पत्रकारले प्रविधिको विकाससंगै प्रवृतिलाई सुधार गर्न आग्रह गरेका थिए । 

कार्यक्रम पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, प्रेस सेन्टर झापाका अध्यक्ष झुलन रेग्मी, प्रेस क्लबका पूर्वअध्यक्षहरु सन्तोष आचार्य, मुक्ति पौडेल, नारी सञ्चार गृहकी पूर्वअध्यक्ष अम्बिका भण्डारी, इलाका प्रहरीका प्रमुख ज्ञानकुमार महतो, प्रेस चौतारी झापाका सचिव प्रकाश पौडेल लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा नारी सञ्चार गृहकी पूर्वअध्यक्ष अम्बिका भण्डारी अक्षयकोष स्थापनाका लागि नगद ५ हजार प्रेस क्लबलाई हस्तान्तरण गरेकी थिइन् । 

संस्थाका अध्यक्ष डम्बर बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका पूर्वअध्यक्ष चिन्तामणि दाहालले पत्रकारिताको इतिहास, वर्तमान र भविष्यको चुनौतिका बारेमा जानकारी गराउँदै सहभागीलाई सहजीकरण गरेका थिए । कार्यक्रमको सञ्चालन देवु बानियाँले गरेका थिए भने स्वागत उपाध्यक्ष जिआर धितालले गरेका थिए ।