बिर्तामोड ।

पर्यटन प्रवर्धन अभियानमा गरेको योगदानको कदर गर्दै प्रदेश सरकारले झापाको बिर्तामोडस्थित होटल हिकोला हेरिटेजका सञ्चालक एवम् हिमालयन टुर एण्ड ट्राभल्स (अनुपमा) का प्रबन्ध निर्देशक देवीभक्त श्रेष्ठलाई सम्मान गरेको छ । विश्व पर्यटन दिवसको अवसर पारेर प्रदेश १ सरकारको पर्यटन तथा संस्कृति मन्त्रालयले विराटनगरमा आयोजित समारोहका बीच व्यवसायिक क्षेत्रका अगुवा श्रेष्ठलाई सम्मानपत्रसहित सम्मान गरेको हो ।

विश्व पर्यटन दिवस २०२२ ‘अतिथिको सत्कार नेपालीको संस्कार’ भन्ने नाराका साथ मनाएको छ । प्रदेश १ सरकारका मुख्यमन्त्री राजेन्द्रकुमार राईले होटल सञ्चालक श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका हुन् । कार्यक्रममा होटल व्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठ, होटल व्यवसायी महासंघ प्रदेश १ का अध्यक्ष राजन दंगाल लगायतको पनि सहभागिता रहेको थियो ।

लामो समयदेखि श्रेष्ठ पर्यटन प्रवर्धन अभियानमा सहभागी छन् । साढे तीनदशक अघिदेखि फोटोग्राफीमार्फत श्रेष्ठले पर्यटकीय क्षेत्रको प्रचार अभियान सुरु गरेका थिए । फोटोग्राफी बाहेक अनुपमा ट्राभल्समार्फत पनि श्रेष्ठले निरन्तर पर्यटन क्षेत्रमा योगदान गर्दै आएका छन् । बिर्तामोडमा होटल हिकोला हेरिटेज सञ्चालनमा छ । श्रेष्ठले काँकडभिट्टामा पनि होटल हिकोला हेरिटेज सञ्चालनमा ल्याएका छन् । ‘जुन सम्मान मैले पाएँ, प्रदेश सरकारले यसको सुरुवात गरेको छ’, श्रेष्ठले भने, ‘आगामी दिनमा पर्यटन क्षेत्रमा योगदान गर्नेलाई उनीहरुको योगदानका आधारमा सम्मान गर्दै लैजानुपर्छ ।’

भाषा, कला साहित्य र संगीतको क्षेत्रमा पनि श्रेष्ठको योगदान रहँदै आएको छ । साहित्य चौतारीको संस्थापक संरक्षकका रुपमा श्रेष्ठले आफ्नो साहित्यिक कर्मलाई शीरमा राख्दै आएका छन् ।

धार्मिक पर्यटन विकासमा पनि श्रेष्ठले योगदान गर्दै आएका छन् । गीत तथा भजन लेखन तथा गायनमा पनि श्रेष्ठको संलग्नता छ । धार्मिक पर्यटनमार्फत पनि उनले आफूलाई स्थापित गरेका छन् । उनका एक दर्जन भजन अहिले पनि विभिन्न मञ्चमा प्रस्तुत हुन्छन् ।

त्यस्तै प्रदेश सरकारको सहयोगमा विराटनगरमा पर्यटन सूचना केन्द्र पनि स्थापना गरिएको छ । विश्व पयर्टन दिवसको अवसर पारेर सूचना केन्द्र स्थापना गरिएको हो । चेम्वर अफ कमर्सको अग्रसरतामा सूचना केन्द्र स्थापना गरिएको छ । केन्द्रमार्फत पूर्वी नेपालका पर्यटकीय क्षेत्रको विषयमा आवश्यक सूचना र जानकारी दिन सकिने जनाइएको छ ।