झापा। 

फागुन ५ गतेदेखि झापामा सञ्चालन हुन लागेको बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सव सफल बनाउन बिर्तामोडका राजनीतिक दलहरुले प्रतिवद्धता जनाएका छन् ।

नगर क्षेत्रभित्र क्रियाशील राजनीतिक दलहरु र महोत्सव आयोजक बिर्तामोड उद्योग वाणिज्य संघ बीच भएको छलफलमा दलका नेता तथा प्रतिनिधिहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् । उनीहरुले बिर्तामोडमा हुने सबैखाले गतिविधिको हिस्सेदार राजनीतिक दल नै भएको उल्लेख गर्दै महोत्सव सफल बनाउन पनि आफूहरुको दायित्व उत्तिकै रहेको जनाउँदै उक्त जिम्मेवारी पूरा गर्न प्रतिवद्ध रहेको बताए ।

कोभिडपछि कोभिडले नै उब्जाएको  आर्थिक समस्याबाट निरास भएका व्यवसायीलाई उत्साह थप्नका लागि भएपनि महोत्सवलाई अबसरका रुपमा हेरिनु पर्नेमा उनीहरुको जोड थियो ।

कार्यक्रममा नेपाली कांग्रेस बिर्तामोड नगर सभापति भोजराज सिटौला, नेकपा एमालेका नगर अध्यक्ष सुवास भट्टराई, नेकपा माओवादीका नगर अध्यक्ष मोहन सुब्बा, राप्रपा नगर अध्यक्ष रञ्जु प्याकुरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य  अर्जुन उप्रेती, जनता समाजवादी पार्टीका नगर अध्यक्ष उदय गुरुङ, नेकपा एकीकृत समाजवादीका बिर्तामोड नगर अध्यक्ष श्रीप्रसाद सिटौलालगायतले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए । 

यता मेला आयोजक समितिका तर्फबाट मेला ब्यवस्थापक ललित सिम्खडाले आफ्नो भनाई प्रस्तुत गरेका थिए । कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष कुमार भट्टराईले ओलाङ्चुङगोलादेखि भारत सहितका मुलुकमा व्यापारिक सम्वन्ध जोड्न बिर्तामोड महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

मेला आयोजक समितिका संयोजक राजु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव कुशल खतिवडाले गरेका थिए ।