झापा । 

नेपाल दशनामी समाजको छैटौं राष्ट्रिय महाधिवेशन चैत ३ र ४ गते सुनसरीको  इटहरीमा हुने भएको छ । अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको समाजका केन्द्रिय सचिव अशोक गिरीले जानकारी दिए ।  महाअधिवेशनमा ६१ जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहने भएको छ । 

महाअधिवेशनमा प्रमुख अतिथि अनन्तश्री विभूषितः प्रथम महिला जगत गुरु शंकराचार्य माता हेमानन्द गिरीजी महाराज रहने भएकी छिन् । त्यस्तै विशिष्ट अतिथिका रुपमा भारतबाट विश्वगत दशनाम गोश्वामी समाज र अखिल भारतीय गोश्वामी सभाका राष्ट्रिय अध्यक्षहरु रहने तय भएको सचिव गिरीले बताए । 

नेपाल दशनामी समाज वैदिक सनातन धर्मका आरध्यदेव शिवका सन्तान, जय गुरु शंकराचार्यका अनुयायी गिरी, पुरी, भारती, बन, सागर, सरस्वती, तीर्थ, आरण्य, पंचत र आश्रमको छाता संस्था हो । आध्यात्मिक र धार्मिक क्षेत्रमा समाजको जिवन्तता र गतिशित स्थिति कायम गरी आपसी भाइचाराको एकतासहित समाजको समग्र विकासलाई लक्षित गरी मुलुकमा साम्प्रदायिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी सदभावको अभिवृद्धि गर्ने समाजको उद्देश्य रहेको छ । 

समाजका बन्धुहरुको पहिचान, संस्कार संस्कृति, रीतिरिवाज र पम्पराको आधारमा वंशावलीको एक रूपता, सस्कृतिको विकास, हकहित र अधिकारलाई संस्थागत रूपमा स्थापना गर्दै सस्थालाई सदैव जिवन्त राख्न समाजको महत्वपूर्ण भूमिका रहनेछ ।

प्राचिन ऐतिहासिक कालमा धर्मको रक्षाको खातिर बाय गुरु शंकराचार्यले निर्वाह गरेका योगदानलाई कुनै पनि जात, जाति धर्मावलम्वीहरुले नकार्न सक्दैनन् । नेपालमा सदियौ बर्षदेखि बस्दै आएका दशनामी जाति भारतवर्ष भरी फैलिएको पाइन्छ । विकसित समाजलाई एकताको सुत्रमा बाँध्ने उद्देश्यका साथ २०५३ सालको महाशिवरात्रीको अवसर पारेर तदर्थ समिति गठन भएको सामाको विधान निर्माण गरेर २०५४ साल भाद्र ११ गते संस्था स्थापना भएको हो । हालसम्म सातै वटा प्रदेश र ६७ जिल्लामा संगठन विस्तार भएको अध्यक्ष रुद्र गिरीले जानकारी दिएका छन् । 

भोलीदेखि इटहरीमा हुने महाधिवेशनबाट सांगठानिक तथा प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्ततुपछि पास गरी नयाँ नेतृत्व चयन गर्नुका साथै दशनामी समाजको हक, अधिकार, पहिचानका बिषयमा विभिन्न महत्वपूर्ण समसामयिक प्रस्तावहरु पारित गर्दै महाधिवेशन सम्पन्न हुने अध्यक्ष गिरीले जानकारी दिएका छन् ।