बिर्तामोड ।
देशभरिका उद्योगी व्यवसायीहरुको साझा संस्था नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा राजकुमार कार्की (राजु) ले उम्मेद्वारी दिने भएका छन् ।
महासंघको काठमाडौमा आगामी चैत २८ र २९ गते हुने ५७ औ वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रम कार्कीलाई उम्मेद्वार बनाउने नेपाल अलैची व्यवसायी महासंघले शनिवार (आज) बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
महासंघको नेतृत्वमा आम उद्योगी व्यवसायीको पीर मर्का र पीडा बुझ्ने, उद्योगी– व्यवसायीको अहितमा हुने जुनसुकै निर्णय र क्रियाकलापका विरुद्ध साहस पूर्वक उभिन सक्ने ब्यक्तिको आवश्यकता परेको भन्दै कार्कीलाई उम्मेद्वार बनाउने महासंघले निर्णय गरेको अध्यक्ष निर्मल भट्टराईले जानकारी दिए ।

महासंघको साधारणसभा र चुनावी चर्चा हुन थालेपछि बिभिन्न पदहरुमा आकांक्षीहरु सार्वजनिक हुन थालेको भन्दै नेपाल अलैँची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष, हाल नेपाल कुचो संघका केन्द्रीय अध्यक्ष राजकुमार कार्की (राजु) लाई महासंघमा वस्तुगत संघहरुको तर्फबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी बनाउने महासंघले निर्णय गरेको अध्यक्ष भट्टराईले बताए । एउटा कुशल, संगठक, प्रष्ट वक्ता, सबैखाले उद्योगी व्यवसायीका समस्या समाधानका लागि अग्रपंक्तिमा उभिने हक्की स्वभावका कार्कीले घोषणा गरेको उम्मेदवारीप्रति नेपाल अलैची व्यवसायी महासंघले समर्थन गर्दै निर्वाचनमा वस्तुगत तर्फको केन्द्रीय सदस्य पदमा उनलाई मतदान गर्ने महासंघले निर्णय जानकारीसमेत दिए ।
कार्की नेपाल अलैची व्यवसायी महासंघ, नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघ र नेपाल कुचो संघको संस्थापक समेत हुन् ।कार्कीलाई वस्तुगत तर्फको केन्द्रीय सदस्य पदमा मतदान गरी अत्यधिक मतले विजयी सवै वस्तुगत संघहरुमा महासंघले अपिलसमेत गरेको छ ।
पत्रकार सम्मेलनमा महासंघका केन्द्रिय उपाध्यक्ष सुवास भट्टराई, सल्लाहकार पवनकुमार बिन्दल, नेपाल सुपारी निर्यात तथा ब्यवसायी संघका अध्यक्ष देवीप्रसाद खतिवडा, नेपाल भेनियर उत्पादक संघका अध्यक्ष दीपक पाण्डे, महासंघका महासचिव नारायण चिमरिया, सचिव सुश्मा भण्डारी, कोषाध्यक्ष सुजित बंशललगायतको उपस्थिति रहेको थियो ।


















