झापा । 

पूर्वका विभिन्न पालिकालाई नेपाल चिया विकास निगमले कर नतिरेको भन्दै निगमलाई करको दायरामा ल्याउन ठोस कदम चाल्न एकीकृत भएर अगाडी बढ्ने निर्णय गरेका छन् । 

नेपाल सरकारले नेपाल चिया विकास निगम र खरिदकर्ता संघई ग्रुपका पुरुषोत्तमलाल संघईलाई भाडामा दिइएको ६ वटा चिया बगानबाट हालसम्म कुनै पनि स्थानिय तहलाई कर नबुझाएको कारण कर असुलीका लागि एकीकृत भएर अगाडी बढ्ने निर्णय गरेका हुन् ।   झापाका मेचीनगर नगरपालिका, बुद्धशान्ति गाँउपालिका, बा¥हदशी गाँउपालिका र इलामका सुर्योदय नगरपालिका, इलाम नगरपालिका र माई नगरपालिकाका प्रमुखहरुको बैठक सम्पन्न भएको हो ।

नेपाल सरकारले भाडामा व्यवसाय गर्न भनि दिइएको जग्गाको सम्पत्ती कर, मालपोत र व्यवसाय कर नेपाल चिया विकास निगमले पटक–पटक पत्रचार र ताकेता गर्दा पनि नतिरेपछि ६ वटा पालिकाका प्रमूखहरु संघाइ ग्रुप र नेपाल चिया विकास निगमलाई करको दायरामा ल्याउन ठोस कदम चाल्ने भएका हुन् । 

बा¥हदशी चिया बगान, टोकला चिया बगान, बर्ने चिया बगान, कन्याम चिया बगान, शोक्तीम चिया बगान, चिलिङ्गकोट चिया बगान र इलाम चिया बगान ५० वर्षको लागि नेपाल सरकारले भाडामा दिइएको थियो । ७ वटा चियाबगानहरुबाट विभिन्न ६ वटा पालिकाहरुले आफ्नो क्षेत्राधिकार भित्रको कर असुल्न विभिन्न निर्णयहरु गरेको छ ।

 संयुक्त बैठकमा जग्गाको विवरण, पालिकाहरुले गरेको पत्राचारको विवरण, सम्पत्ति करको फारमको विवरण, सम्बन्धित मन्त्रालय र अर्थ मन्त्रालयमा गरेको पत्राचार तथा नेपाल चिया विकास निगमलाई गरेको पत्राचारको विबरण तयार गर्ने निर्णय गरेको छ । त्यस्तै हालसम्म कर नतिर्ने निगमलाई पुनः कर तिर्न पत्राचार गर्ने र त्यसको जनाकारी संघिय मामिला तथा कानुन मन्त्रालय मार्फत नेपाल सरकारलाई जानकारी गराउने निर्णय गरेको छ ।

त्यस्तै तत्कालिन श्री ५ को सरकार र निगम विच भएको सम्झौतामा उल्लेख गरेको रकमदेखि हाल सम्म तिर्नुपर्ने रकमको विवरण बनाउने र श्रमिक ऐन अन्तरगत श्रमिकहरुलाई पारिश्रकि र अन्य सेवा सुविधा उपलब्ध गराउन सम्बन्धित मन्त्रालयलाई ध्यानाकर्षण गर्ने निर्णय बैठकले गरेको मेचीनगरपालिकाका मेयर गोपाल बुढाथोकिले जानकारी दिए । पालिकाहरुको संयुक्त बैठकले ठोस निर्णयमा पुग्न गर्नुपर्ने अन्य प्रक्रियाहरुको लागि पनि तयार भएर लाग्ने साथै स्थानिय पालिकाहरुले नै उक्त चिया बगानहरु सञ्चालन गर्नुपर्ने अवस्था आए आँफूहरु तयार रहेको समेत जानकारी दिएको छ ।