झापा । 

लघुवित्त संस्थाहरूको ज्यादतीविरुद्ध झापामा महिलाहरू आन्दोलनमा उत्रिएका छन् । सरकार समक्ष पाँच बुँदे माग राख्दै चैत २१ गतेदेखि जिल्ला प्रशासन कार्यालय झापाको मुख्य प्रवेशद्वार अगाडि रिले अनसनसहित धर्ना दिदै आएका छन् ।

 लघुवित्त संस्थाविरुद्धको संघर्ष समिति झापाको अगुवाईमा जिल्लाका विभिन्न स्थानबाट आएका लघुवित्त संस्थाका पीडित महिलाहरू बिहान १० देखि बेलुका ५ बजेसम्म धर्नामा बस्दै आएका संघर्ष समिति कोशी प्रदेशका सल्लाहकार संयोजक सुभाषचन्द्र मैनालीले जानकारी दिए । 

महिलाहरुले झापामा संघर्ष समिति गठन गरी आन्दोलनमा उत्रिएका हुन् ।  संघर्ष समितिले नवसामन्तीका रुपमा स्थापित लघुवित्त संस्थाहरू खारेज गर, लघुवित्त संस्थाहरुद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर, आम गरिब किसानहरूलाई निःशुल्क ऋण प्रदान गर, आवश्यकता र क्षमताका आधारित काम र दामको व्यवस्था गर र समाजवादी अर्थतन्त्रको विकास गरलगायतको माग गर्दै जिल्ला प्रकाशन कार्यालय अगाडी लगातार अनिश्चितकालीन धर्ना जारी राखेका छन् ।