इलाम । 

इलामको माई नगरपालिका–२ चेप्टीमा सञ्चालित फन पार्क ‘हेप्पी ड्रिम्स् चेप्टी’का सञ्चालक दिनेश शिवाकोटीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फन–पार्कले ओगटेको सार्वजनिक जमिन खाली गराउन दिएको निर्देशनप्रति आपत्ति जनाएका छन् । 

फन पार्क निर्माण भएको जमिन बन क्षेत्रको नभएको र अख्तियारले भने जस्तो क्षेत्र पनि नभएको भन्दै सञ्चालक शिवाकोटीले आपत्ति जनाएका हुन् । सञ्चालक शिवाकोटीले सवै प्रक्रिया पूरा गरेर फन पार्क सञ्चालन गरेको बताउँदै आफ्नो जग्गामा पार्क निर्माण गर्दा आवश्यक पर्ने सवै ठाउँबाट अनुमति लिएको बताए । उनले आफुसँग भएको कागजात नै काफि भएकाले अहिले नै केही गरिहाल्नु पर्छ भन्ने सोच नरहेको बताएका छन् । 

सञ्चालक शिवाकोटीले शुक्रवार (आज) फन पार्कमा पत्रकार सम्मेलनको आयोजना गरी ब्यक्तिगत फाइदा मात्र नहेरी उक्त ठाउँको बिकासलाई ध्यानमा राखेर आफुले करडौं लगानी गरेको बताउँदै अख्तियारले जमिन खाली गराउन दिएको निर्देशनप्रति आपत्ति जनाए । 

happy drem

सञ्चालक शिवाकोटीका अनुसार फन पार्क सञ्चालनसँगै आन्तरिक तथा बाह््य पर्यटकको आगमन बढेको, बाटोको सुबिधा, स्थानीयलाई रोजगारी, जग्गाको मूल्यबृद्धिलगायतमा समेत प्रभाव परेको छ । उनले माई नगरपालिकाभित्र ८० प्रतिशत जमिन ऐलानी र २० प्रतिशत जग्गा मात्र नम्बरी रहेको बताउँदै उक्त ऐलानी जग्गा स्थानीयले बर्षौदेखि भोगचलन गर्दै आएको बताएका छन् । 

‘ठूलो विकासको प्रोजेक्ट भएकाले नम्बरी जग्गाले मात्र नपुग्ने भयो’ सञ्चालक शिवाकोटीले भने ‘स्थानीयले जोतभोग गरिरहेको जग्गा नगरपालिका र स्थानीयको रोबहरमा खरिद गरेर फन पार्क सञ्चालन गरेको हो ।’ 

२ सय १८ रोपनीमा फैलिएको हेप्पी ड्रिम्प्स चेप्टी प्रालिले निर्माण गरेको पार्कको जमिन पर्ती र सामुदायिक वनको रहेको भन्दै अख्तियारले खाली गराउन  निर्देशन दिएको छ । 

पार्कले ओगटेको १ सय ३२ रोपनी पर्ती र माइखोलाको जनिएको तथा ४५ रोपनी सामुदायिक वनको रहेको आयोगले ठहर गरेको छ । बाँकी ४१ रोपनी मात्र प्रालिको स्वामित्वमा देखिएकाले पर्ती र माइखोलाको तथा वनको जमिन खाली गराइ वन क्षेत्र कायम गर्नसमेत अख्तियारको निर्देशन छ । फन पार्कले सामुदायिक वनको जमिन ओगटेको भन्दै २०७८ माघ ६ मा अख्तियारमा उजुरी परेको थियो ।