झापा । अर्पण गिरीले निर्देशन गरेको चलचित्र वानर सेना प्रर्दशनको पर्खाइमा रहेको छ । रामायण बेसमा आधारित यो चलचित्र गिरी ग्रेण्ड फिल्म प्रालिको ब्यानरमा तयार गरिएको हो । रामायणमा हालसम्म नखुलाइएका विषयलाई कथाबस्तु बनाएर तयार परिएको यो चलचित्र रामायण वेसमा आधारित मोडन चलचित्र हो । 

क्यानडाको विनिवेगमा बसेर चलचित्र सम्वन्धी अध्ययन गर्दै चलचित्र निर्माणका लागि मात्रै तीन वर्ष रिर्सच गरेका अर्पणले रामायण वेसमा यो चलचित्र तयार पारेका हुन् । यो चलचित्र युवराज गिरीले निर्माण गरेका हुन् ।  

चलचित्र निर्देशनसंगै अर्पणले फ्लिम क्षेत्रमा ‘डेब्यू’ गर्न लागेका हुन् । यो चलचित्रमा नायकको भूमिकामा आफैं देखा पर्ने अर्पणले नायिकाको रुपमा आर्जु प्रसाईलाई समेत डेब्यू गराउन लागेका हुन् । 

रामायण वेसमा पहिलो नेपाली कथानक चलचित्रका रुपमा वानर सेनालाई उभ्याइएको निर्माण पक्षको दावी छ । यो चलचित्र निर्माण र निर्देशन झापालीले गर्न लागेका हुन् । चलचित्र निर्माणकर्ता युवराज  निर्देशक अर्पणका बुवा हुन् । यता प्रोडक्सन म्यानेजरका रुपमा युवराजकी छोरी अंशिका गिरी रहेकी छिन् । 

रामानन्द सागरले लेखेको रामायणमा देखाइएको जस्तो कथावस्तु यो चलचित्रमा नरहने र रामायणमा लुकेका पक्षलाई समेटेर चलचित्र तयार गरिएको निर्माता युवराजको दावी छ । यो चलचित्रमा रामायणमा जस्तो राम, लक्ष्मण ,  सीता , हनुमानको क्यारेक्टर नहुने र मोर्डन जमानालाई प्रतिनिधित्व गर्दै चलचित्र तयार गरिएको निर्माण पक्षको दावी छ । 

रामायणमा राम्रो कर्म गर्नेलाई मर्यादा पुरुषोत्तमका रुपमा रामलाई हेरिने गरिएको र खराव प्रवृत्ति भएकालाई रावणको भूमिकामा हेरिएजस्तै यो चलचित्रमा पनि राम र रावणको भूमिकालाई प्रतिनिधित्व गर्ने गरी पात्र चयन गरिएको र उनीहरुलाई सोही अनुसारको भूमिका प्रदान गरिएको निर्माता गिरीले बताए । उनले भने – रामायणकालीन समयको जस्तो यो चलचित्र छैन तर, राम र रावणको क्यारेक्टरलाई जनाउन खोजिएको छ । 

चलचित्र छायाङ्कनका लागि लंकाको जस्तै परिवेश देखिने स्थानलाई चयन गरिएको र नेपालको श्रीलङ्काका नामले परिचित केसीको टापुमा चलचित्र छायङ्कन गरिएको बताइएको छ । चलचित्र चक्रघट्टी, रामधुनी, राजावास, जनकपुर, उदयपुर, कोसी लगायतका क्षेत्रमा  छायङ्कन गरिएको  छ । 

चलचित्रमा चार वटा गीतलाई समावेश गरिएको र गीतमा समेत हरेक पक्षलाई समेटिएको निर्देशक गिरीको दावी छ । झट्ट सुन्दा यो चलचित्र  ऐतिहासिक, धार्मिक तथा  पौराणिक जस्तो सुनिएपनि यो चलचित्र विशुद्ध सन्देश मुलक र पारिवारिक रहेको बताइएको छ । 

यो चलचित्रमा सुरवीर पण्डित, किशोर खतिवडा, अर्जुन गुरुङ, कामेश्वर चौरासिया, किशनबाबु बस्नेत, रमेश सोडारी,युवराज गिरी लगायतका कलाकारको अभिनय रहेको छ । 

नेपाली चलचित्र क्षेत्रको विकासमा इँटा थप्दै राम्रा चलचित्र निर्माण गर्न सके चलचित्र दर्शकको रोजाइमा पर्ने दावी सहित यो चलचित्र निर्माण गरिएको निर्माण पक्षको दावी छ । यो चलचित्र आगामी असोजसम्ममा प्रर्दशनमा ल्याउने तयारी गरिएको छ ।