झापा । 

झापाबाट चार जना फरार प्रतिवादी पक्राउ परेका छन् । झापा जिल्ला अदालतको बिभिन्न मितिको फैसला अनुसार बिभिन्न मुद्दामा फरार रहेका चार जना प्रतिबादीहरुलाई प्रहरीले पक्राउ गरेको हो । 

 जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले सोमवार पक्राउ ती फरार ब्यक्तिहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

पक्राउ गरिएका उनीहरुलाई फैसला कार्यन्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको थियो । अदालतको आदेशले कैद भुक्तान बाँकी रहेका २ जना प्रतिबादीलाई कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको र जरिवाना तोकिएको प्रतिबादीहरुलाई जरिवाना रकम बुझाएर छाडिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

झापा जिल्ला अदालतको मिति २०७८/१०/२६ गतेको फैसला अनुसार पशुपंक्षी सम्बन्धी कसुर मुद्दामा ५ महिना २ दिन कैद भई फरार रहेका दमक–७ का २० बर्षिय बब्लु अली र झापा जिल्ला अदालतको मिति २०७८/०८/२९ गतेको फैसला अनुसार चोरी मुद्दामा ६ महिना ९ दिन कैद र १५ हजार रुपैयाँ जरिवाना भई फरार रहेका मोरङको मिक्लाजुङ गाउँपालिका–९ का २० बर्षिय भेन्टे भन्ने होमराज कन्दंवा लिम्बु कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै उच्च अदालत पाटनको मिति २०७७/११/२३ गतेको फैसला अनुसार बैकिङ कसुर मुद्दामा १ लाख २३ हजार ५८६ रुपैयाँ जरिवाना भई फरार रहेका कचनकवल–५का ३० बर्षिय भरतकुमार गणेश र झापा जिल्ला अदालतको मिति २०८०/०१/१५ गतेको फैसला अनुसार चेक अनादर मुद्दामा एक हजार रुपैयाँ जरिवाना भई फरार रहेका गौरादह– ९ का ३९ बर्षिय अमित निरौला जरिवाना रकम बुझाएपछि छाडिएको प्रहरीले जानकारी दिएको छ ।