बिर्तामोड ।

कोशी प्रदेश सरकारको आगामी आर्थिक बर्ष २०८०/०८१ को नीति, कार्यक्रम तथा बजेटमार्फत चिया क्षेत्रको समस्या सम्बोधन गर्न सरोकारवालाले जोड दिएका छन् ।

प्रदेशकै प्रमुख आर्थिक क्षेत्रको रुपमा रहेको चिया क्षेत्रलाई विशेष क्षेत्र मानेर नीति तथा कार्यक्रम तय गर्न सरोकारवालाहरुले सुझाव दिएका हुन् । करिब ७० हजारलाई रोजगारी सिर्जना गर्न सफल चिया क्षेत्रले प्रदेशको आर्थिक विकास र विदेशी मुद्रा आर्जनमा मुख्य भूमिका निर्वाह गर्दै आएको उनीहरुको भनाई छ ।

संवाद समूह झापाको संयोजनमा (आज) बिहीबार बिहान बिर्तामोडमा सम्पन्न छलफलमा प्रदेशसभा सदस्य चिन्तन पाठकले चिया क्षेत्रका समस्या पहिचान गरी समाधानमा प्रदेश सरकारले कदम चाल्नुपर्ने धारणा राखेका थिए । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड बिर्तामोडका प्रमुख इन्द्र अधिकारीले चिया क्षेत्रमा धेरै समस्या भएपनि प्राथमिकताका आधारमा सम्बोधन गर्न प्रदेश सरकारलाई सुझाव दिए । 

कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष भूपाल सापकोटा, फापुनका संयोजक सन्तकुमार राई, नेपाल चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङ, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघका उपाध्यक्ष सहीकुमार राई, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ नेपालका प्रदेश अध्यक्ष हर्कजंग थुङ्गिम, नेपाल ट्रेड युनियन कांग्रेसका जिल्ला अध्यक्ष यज्ञप्रताप अधिकारी, अखिल नेपाल ट्रेड युनियन महासंघ जिल्ला अध्यक्ष जग्गनाथ पौडेल, चिया प्राविधिक अनन्त ढुंगाना, गोपाल गुरुङलगायतले प्रदेश सरकारले श्रम ऐन तथा योगदानमा आधारित सामाजिक सुरक्षा कोष कार्यान्वयनमा सहयोग गर्नुपर्ने माग राखेका थिए । 

सोही कार्यक्रममा प्रदेशसभा सदस्य पाठकलाई संवाद समूहले सम्मान गरेको छ । संवाद समूहको सदस्य समेत रहेका पाठक प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै सम्मान पत्रसहित सम्मान गरेको हो ।