बिर्तामोड । 

झापाको विर्तामोडमा ‘प्रथम कर्पाेरेट सुपर सिक्स क्रिकेट  प्रतियोगिता’ हुने भएको छ । बिर्तामोड नगर खेलकूद विकास समितिको आयोजनामा आगामी जेठ ६ गतेदेखि प्रथम कर्पाेरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता हुने आइतवार (आज) पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । 

बिर्तामोड–३ स्थित डोमालाल राजबंशी रंगशालाको खेल मैदानमा हुने प्रतियोगितामा सहभागीताका लागि हालसम्म १७ वटा टिमले नाम दर्ता गराइसकेको नगर खेलकुद विकास समितिका अध्यक्ष बिकास गिरीले जानकारी दिए । टिम दर्ता गर्ने समय अझै बाँकी रहेकाले टिमको संख्या अझ बढ्न सक्ने उनले बताए । 

प्रतियोगिताको बिजेता टिमलाई नगद एक लाख, दोस्रोलाई नगद ५० हजार रुपैंयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका कार्यक्रम संयोजक बिशाल अग्रवालले जानकारी दिए । त्यसैगरी खेलको म्यान अफ द टुर्नामेन्टलाई १० हजार रुपैंयाँ, वेस्ट ब्याट्स म्यान र बेस्ट बलरलाई जनही ५ हजार एक सय, प्रत्येक खेलको म्यान अफ द म्याचलाई २ हजार एक सय रुपैंयाँ पुरस्कार दिने आयोजकले जनाएको छ । प्रतियोगितामा हिट बोर्डको ब्यवस्था गरी बिभिन्न आकर्षक पुरस्कार प्रदान गर्ने तयारी रहेको प्रतियोगिताका कार्यक्रम संयोजक अग्रवालले जानकारी दिए । 

btm khel

प्रतियोगितामा बिर्तामोड घर भएका राष्ट्रिय फुटबल टिमका सहायक प्रशिक्षक प्रवेश कटुवाल, राष्ट्रिय फुटबल टिमका खेलाडी निशान खड्का र अभिषेक बराललाई सम्मान गरिने भएको छ । प्रतियोगिताको फाइनल खेल राती सम्पन्न गर्ने तयारी गरेको आयोजकले जनाएको छ । जसका लागि फ्लड लाईट जडान गरिने बताइएको छ । 

जेठ ७ गते सम्पन्न हुने प्रतियोगितामा कुटुम्ब ब्याण्डको प्रस्तुती रहने छ । प्रतियोगितालाई बिर्तामोडको ग्राण्ड प्यासिफिक होटल, गरिमा मल्टिप्रपोज र ओम काष्टिङ उद्योगले प्रायोजन गरेको सचिव विशन लिम्बुले जानकारी दिए ।