बिर्तामोड । 

प्रथम माउण्ट एभरेष्ट खुल्ला कराँते प्रतियोगिताको उपाधि मोरङले हात पारेको छ । झापाको अर्जुनधारा–६ स्थित गामस्त स्पोट्स हवमा भएको दुई दिने प्रतियोगिताको उपाधि मोरङले हात पारेको हो । 

उपाधिसँगै मोरङको वुढीगंगा गाउँपालिकास्थित न्यू सेव कराँते एकाडेमीले नगद २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यसैगरी दोस्रो उपाधि सुनसरीले हात पारेको छ । सुनसरीले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

तेस्रो उपाधि झापाले हात पारेकोे छ । बिर्तामोड स्पोट्स एकाडेमी तेस्रो उपाधिसँगै नगद १० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेकोे छ । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने टिमलाई आइतवार कोशी प्रदेशकी सामाजिक विकास मन्त्री गीता तिम्सिनाले पुरस्कार वितरण गरेकी थिइन् । 

मेचीनगर स्पोट्स एकाडेमी, राइजिङ सन कराँते एकाडेमी र एमिटी एजुकेशन फाउण्डेशनको संयुक्त आयोजनामा प्रतियोगिता सम्पन्न भएको होे । एमिटीका कराँते प्रशिक्षक सन्जित मोहोलीको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेशकी सामाजिक विकास मन्त्री तिम्सिनाको प्रमुख आतिथ्य रहेको थियो । 

स्वागत राइजिङ सन कराँते एकाडेमीका सञ्चालक मदनकुमार भण्डारीले गरेको कार्यक्रममा प्रमुख अतिथि मन्त्री तिम्सिना, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) झापाका संयोजक खड्ग तिम्सिना (पवन), बरिष्ठ कराँते प्रशिक्षक कालु मेचे, पूर्व कराँते चिफ कोच मदनकुमार उप्रेती लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमकोे सञ्चालन नेपाल कराँते महासंघका केन्द्रीय सदस्य मिलनराज प्रसाई मदनले गरेका थिए । प्रतियोगिता कात्तिक १४ र १५ गते भएको हो । 

कार्यक्रममा एमिटी एजुकेशन फाउण्डेशनका प्रिन्सिपल आरएस ढकाल, नेपाल भलिवल संघका केन्द्रिय उपाध्यक्ष मदन खड्का, अन्तरािष्ट्रय रेफ्री प्रविन राना, कोशी प्रदेश कराँते महासंघका अध्यक्ष प्रभाकर रानामगर, एशियन मेडलिष्ट मिना पाठकलगायतको आतिथ्य रहेको थियो । 

प्रतियोगितामा सहभागी खेलाडीहरुलाई मेडल र प्रमाणपत्रसमेत वितरण गरिएको थियो । प्रतियोगितामा १८ वटा टिम तथा २५० वढी खेलाडीहरुको सहभागीता रहेको नेपाल कराँते महासंघका केन्द्रीय सदस्य मिलन प्रसाईले जानकारी दिए । उद्घाटन कार्यक्रमको प्रमुख अतिथि मदन भण्डारी स्पोट्स एकाडेमीका केन्द्रीय उपाध्यक्ष तुलसी मैनाली रहेका थिए  भने बिशेष अतिथि नेपाल कराँते महासंघका केन्द्रिय उपाध्यक्ष डा. ओमकृष्ण प्रसाई रहेका थिए ।