शिवसताक्षी । 

झापा इनर्जी लिमिटेडको सौर्य ऊर्जाबाट १० मेगावाट विद्युत उत्पादन गर्ने परियोेजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । लिमिटेडले साउन सम्ममा सम्पूर्ण कामहरु सम्पन्न गरेर अशोज १ गतेदेखि सेवा सुचारु गर्ने भएको छ । 

झापाको शिवसताक्षी नगरपालिकाका वडा नम्बर ४ मा २२ बिगाहा जग्गामा सञ्चालनमा आउन लागेको सौर्य ऊर्जा परियोजनाको ७० प्रतिशत कार्य सम्पन्न भएको जनाइएको हो । 

लिमिटेडका प्रवन्ध निर्देशक सुवास भट्टराई, बिर्तामोड नगरपालिकाकी नगर प्रमुख तथा सञ्चालक पवित्रा महतरा प्रसाई र सञ्चालक नारायण पोखरेलसहित पत्रकारहरुको टोलीसँगको बुधबार (आज) फिल्ड भिजिटका क्रममा आगामी भदौसम्ममा परियोजनाको सम्पूर्ण कार्य सम्पन्न गर्ने जानकारी गराइएको हो । 

enrjiy

साढे तीन बर्षअघि लिमिटेड स्थापना गरेर ७९ करोडको लगानीमा सञ्चालन गरिएको आयोजनाको असार मसान्तसम्ममा सपन्न गर्ने गरी कार्य अघि बढिरहेको भएपनि बर्षात र आर्थिक मन्दीका कारण थप एक महिनाजती समय बढ्न सक्ने प्रबन्ध निर्देशक सुवास भट्टराईले बताए । उनका अनुसार सकेसम्म समयमै काम सक्ने गरी कार्य भइरहेको छ । पूर्वी नेपालकै सवैभन्दा ठूलो सोलारबाट १० मेगावाट बिद्युत उत्पादन गर्ने परियोजना झापा इनर्जी भएको प्रबन्ध निर्देश भट्टराईले बताए । परियोजना सञ्चालनसँगै उत्पादन भएको बिद्युत नेपाल विद्युत प्राधिकरणलाई प्रति युनिट ७.३० पैसाले २५ बर्षका लागि बिक्री गरिने उनले बताए । ७० प्रतिशत लगानी बैंकको रहेको र ३० प्रतिशत शेयर सदस्यहरुको परियोजनामा लगानी रहेको उनले जानकारी दिए । परियोजनाको आर्थिक हिसावले ६६ प्रतिशत र भौतिक रुपमा ७० प्रतिशत कार्य भइसकेको भट्टराईले बताए । 

परियोजनाको पिलर र राफ्टर लगाउने कार्य ९५ प्रतिशत सम्पन्न भइसकेको इन्जिनियर केशव चापागाईले जानकारी दिए । उनका अनुसार ८ सय १९ वटा टेबलमा ५५० वाटको एउटा प्यानल गरेर २१ हजार ८ सय ४० वटा प्यानल हुनेछन् । सौर्य ऊर्जाबाट उत्पादन भएको बिधुत २ वटा इन्भटर हुँदै गएर बिद्युत लाइनमा जोडिने इन्जिनियर चापागाईले बताए । हाल परियोजनामा ४० जना वढीले काम गर्दै आएका छन् । 

परियोजनाको अहिलेसम्म भएका काम भन्दा बाँकी रहेका काम अलि छिटो हुने खालका भएकाले चाँडै नै सञ्चालनमा आउने सञ्चालक पबित्रा महतरा प्रसाईले बताइन् । उनले परियोजना सञ्चालनका साथै उक्त स्थानलाई पर्यटकीय क्षेत्रका रुपमा समेत विकास गर्नका लागि पनि ब्यक्तिगत रुपमा प्रयास भइरहेको बताइन् ।