जलथल । 

बिश्व जैविक विविधता दिवसको अवसर पारेर फरेस्ट एक्सन नेपालले जलथल जैविक विविधता समेटिएको वृतचित्र  प्रदशनी गरेको छ । हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनले औपचारिक रूपमा सोमबार (आज) वृतचित्रको उदघाटन गरेका हुन् । वृत्तचित्र आजै युट्युवमा पनि सार्वजनिक गरिएको छ।

त्यसैगरी जैविक विविधता दिवसको अवसरमा जलथलमा २३ काम शिर्षकमा भएको चित्रकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने सिग्मा इङलिस स्कुलका विद्यार्थीहरू सोनिक तामाङ र नम्रता राजवंशी, द्धितीय स्थान हासिल गर्ने हल्दिबारी माविका किशोर फागो र तृतीय हुने पशुपति माविका पारस राजवंशी र हिमाली माविका प्रिया सिंहलाई पुरस्कार वितरण गरिएको थियो। जलथल क्षेत्रमा ईको कल्ब गठन भएका हिमाली मावि, पथरिया मावि, हल्दिबारी मावि, पशुपति र लक्ष्मी माविलाई शैक्षिक सामग्री पनि वितरण गरिएको छ।

पाथीभरा कालीका सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सागर पोर्तेलको अध्यक्षतामा भएको कार्यक्रममा हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङदेनको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा हल्दिबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, वडा नं ४ का वडाध्यक्ष सन्तकुमार थापा, डिभिजन वन कार्यालयका निमित्त प्रमुख नथुनी यादव, फेकोफन झापाका उपाध्यक्ष चन्द्र तामाङ्ग,सव डिभिजन वन कार्यालय रंगेडाडाका प्रमुख राजु खडका, रेडक्रस जलथलका सभापति रेम खरेल, वडा नं ४ का वडा सचिव जयप्रसाद पोखरेललगायत विभिन्न वन समूहका अध्यक्ष  तथा प्रतिनिधिहरू, विभिन्न विद्यालयका शिक्षक प्रतिनिधिहरू, विधार्थीहरूको उपस्थिति रहेको थियो।

प्रमुख अतिथि लिङदेनले दक्षिण एसियामै जैविक विविधताले भरिएको वनका रूपमा परिचित जलथल वनलाई चिनाउन यो महत्वपूर्ण सामाग्री भएको बताएका छन् । उनले जैविक विविधता संरक्षणमा गाउँपालिकाले सहकार्य गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।  हल्दिबारी गाउँपालिका उपाध्यक्ष मैनालीले एउटा दस्तावेज तयार भएको र यसले जलथल वनको प्रचारमा सहयोग पुग्ने भन्दै फरेस्ट एक्सन लाई धन्यवाद दिएकी थिइन्।

 फरेस्ट एक्सन नेपालका कार्यक्रम संयोजक डा. लीलानाथ शर्माले औचित्य माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन संचारकर्मी देवीका अधिकारीले गरेकी थिइन्।