अर्जुनधारा ।
झापाको अर्जुनधारा नगरपालिका–१, मदनपुरमा निर्माण गरिएका वसुन्धरा मान स्वास्थ्य केन्द्र, दुबसु पुस्तकालय तथा वसुन्धरा मान मन्दिर उद्घाटनसँगै समुदायलाई हस्तान्तरण गरिएको छ। बुधबार आयोजित समारोहका बीच तीनवटै संरचना उद्घाटन गरी समुदायलाई हस्तान्तरण गरिएको हो। सोही अवसरमा दृष्टि आई हस्पिटलको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविरसमेत सञ्चालन गरिएको थियो।
शिविरमा २ सय ३० जना भन्दा बढीले स्वास्थ्य सेवा लिएको र ३० जनालाई शल्यक्रियाका लागि सिफारिस गरिएको दृष्टि आई हस्पिटलका प्रवक्ता डा. सत्येन्द्र झाले जानकारी दिए।
ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा, पुस्तकालयमार्फत अध्ययनको अवसर र धार्मिक गतिविधिका लागि आवश्यक पूर्वाधार एकै ठाउँमा उपलब्ध हुनु स्थानीयका लागि महत्वपूर्ण मानिएको छ। यस्ता संरचनाले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न, पठन संस्कृतिको विकास गर्न तथा समुदायबीच सामाजिक र सांस्कृतिक सम्बन्ध बलियो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य इन्दिरा राना मगरको प्रमुख आतिथ्य रहेको थियो । समारोहमा वसुन्धरा मान प्रज्ञा प्रतिष्ठानकी संरक्षक वसुन्धरा देवी सुवेदी, अर्जुनधारा नगरपालिकाका पूर्वप्रमुख हरिकुमार राना, समाजसेवी एवं ऊर्जा मन्त्रीका सल्लाहकार देवी अधिकारीलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा अर्जुनधारा नगरपालिका–१ का वडाध्यक्ष उपेन्द्र बस्नेत, सशस्त्र प्रहरी बल इलामका प्रमुख प्रहरी उपरीक्षक केशवचन्द्र प्याकुरेल, अर्जुनधारा जलेश्वरधामका मूल अर्चक पं. अग्निप्रसाद सिग्देल तथा स्वास्थ्य केन्द्र, पुस्तकालय र मन्दिर निर्माण समितिका अध्यक्ष राजकुमार बराइली कार्यक्रममा सहभागी थिए । कार्यक्रममा बेलायत तथा जापानका लागि पूर्वराजदूत एवं वसुन्धरा मान प्रज्ञा प्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीले स्वागत गरेका थिए ।
स्वास्थ्य केन्द्र, पुस्तकालय तथा मन्दिर स्थापना गर्ने उद्देश्यमा आर्थिक सहयोग र प्रोत्साहन प्रदान गर्ने सहयोगदातालाई कार्यक्रममा सम्मान गरिएको थियो। जापानमा रहेर सामाजिक सेवामा योगदान पु¥याउँदै आएका प्रतिष्ठानका सहयोगी ताकाशी कोजिमालगायतलाई सम्मान गरिएको हो।
निचिनोकेन कान्तो कम्पनीका अध्यक्ष कोजिमाले संस्थाको उद्देश्य पूरा गर्न आर्थिक सहयोग तथा निरन्तर प्रोत्साहन प्रदान गर्दै आएका छन् । स्थानीयस्तरमा आवश्यक सामाजिक पूर्वाधार निर्माणका लागि स्वदेश तथा विदेशमा रहेका सहयोगीहरूको योगदानले महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।
कार्यक्रममा शनिश्चरे बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष हेमराज खरेल, अर्जुनधारा नगरपालिका–९ का वडाध्यक्ष भीष्म मिश्र, वडा नं. ७ का वडाध्यक्ष गोविन्द खतिवडा, रूपरत्न मेमोरियल बोर्डिङ स्कुलकी प्रिन्सिपल नम्रता गिरी तथा शनिश्चरे बहुमुखी क्याम्पसका प्रमुख कृष्णबहादुर थापालगायतको उपस्थिति रहेको थियो।
प्रतिक्रिया 0