• चन्द्र बस्नेत

सुरुङ्गा । 

झापाको कनकाई नगरपालिकाले दुई जना वालकको उद्वार गरेकोे छ । कनकाई नगरपालिकाको नगर बालअधिकार समितिको समन्वयमा  जोखिममा रहेका दुई जना बालकहरुको उद्धार गरेको हो ।

गोप्य सूचनाका  आधारमा जोखिमपूर्ण श्रममा लगाइएको मानसिक अवस्था कमजोर भएका अन्दाजी ११ बर्षिय दुवै बालक वेवारसे अवस्थामा भेटिएका थिए । 

दुई बालकहरुलाई नगरपालिकाको बालकल्याण इकाईको नेतृत्वमा बाल हेल्पलाईन १०९८ विराटनगर र प्रहरीसहितको संयुक्त टोलीले जेठ ८ गते उद्धार गरेको हो । वालकलाई कनकाई ५ बाट उद्वार गरिएको  नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए ।

उद्धार गरिएका बालकहरुलाई कनकाई नगरपालिकाका नगर प्रमुख  पोखरेलको रोहवरमा नगर बालअधिकार समितिका अध्यक्ष तथा उपप्रमुख आशा शर्मा शिवाकोटीले अस्थायी संरक्षणका लागि बाल हेल्पलाईन १०९८ विराटनगरलाई हस्तान्तरण गरेका थिए ।

त्यस्ता जोखिममा रहेका बालबालिका कहिकतै भेटिए तत्कालै बाल अधिकार समितिहरु वा बाल हेल्पलाईनमा जानकारी गराउन बालकल्याण अधिकारी उमानाथ ढकालले आग्रह  गरेका छन् । 

यतिबेला  कनकाई नगरपालिका देशकै उत्कृष्ट बालमैत्री स्थानीय शासन युक्त नगरपालिका बन्ने लक्ष्यका साथ क्रियाशील रुपले कार्य गरिरहेको  प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले बताए ।  

 कनकाई नगरपालिकाले आर्थिक बर्ष २०८०/०८१ मा नगरलाई बालमैत्री घोषणाको तयारी गरेको छ । आगामी २०८०/ ८१  मा  नगरलाई बालमैत्री घोषणाको तयारी गर्दै कनकाई नगरले तीन वटा वडालाई आर्थिक बर्ष २०७९/०८० मा बालमैत्री घोषणाको तयारी गरेको  बालस्रोत व्यक्ति  प्रजेश खनालले जानकारी दिए ।