झापा । 

सहकारी समस्या समाधान सहजीकरण संयन्त्र झापाले शान्ति सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापन पत्र बुझाएको छ । सहकारी समस्या समाधान तथा सहजीकरण गर्ने उदेश्यले निर्माण भएको संयन्त्रले राष्ट्रिय सहकारी महासंघद्धारा सहकारी समस्या समाधानका लागि अघि सारेका १३ बुँदे मागपत्रसहित शान्ति सुरक्षाका लागि आज (आइतवार) ज्ञापन पत्र बुझाएको हो । 

संयन्त्र झापाको आइतवार (आज) बसेको बैठकको निर्णय अनुसार ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई बुझाइएको जिल्ला सहकारी संघ झापाका सचिव भवानीप्रसाद दंगालले जानकारी दिए । 

सहकारी समस्या समाधान सहजीकरण संयन्त्र झापाका संयोजक तथा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, संघका बरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरी, संयन्त्रका सदस्य विशेश्वरप्रसाद भट्टराई, केशव सापकोटा, भूपराज लुईटेललगायतले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाएको सचिब दंगालले बताए । 

पछिल्लो समय झापा जिल्लाका सहकारी संघ, संस्था र लघुवित्त सेवा प्रदायक संघ संस्था माथि विभिन्न अराजक व्यक्ति तथा समूहले भौतिक आक्रमण गर्ने कर्मचारीहरुलाई हातपात गर्ने तोडफोड गर्ने गराउने जस्ता क्रियाकलापहरु सञ्चालन गर्ने गरेकाले त्यस्ता व्यक्तिलाई कानूनको दायरामा ल्याएर कारवाही प्रकृया अगाडी बढाउन ज्ञापनपत्रमा माग गरिएको छ । 

ज्ञापनपत्रमा भनिएको छ ‘सहकारीप्रति अराजक भइरहेका ब्यक्ति र समुहलाई कारवाहीको दायरामा ल्याएर सहकारीहरुलाई सुरक्षाको प्रत्याभूति गराउनसमेत आग्रह गर्दछौं ।’