चारपाने । 

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २ ले बार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ । बिर्तामोड–२ नम्बर वडाले सोमवार (आज) हरि सामुदायिक भवनमा एक कार्यक्रमको आयोजना गरी वडाले एक बर्षको अवधिमा गरेको प्रगति विवरण सार्वजनिक तथा बालमैत्री स्थानीय शासन कार्यक्रमका बारेमा जानकारी दिएको हो । 

कार्यक्रममा बिर्तामोड–२ का वडाध्यक्ष किशोरकुमार पौडेलले वडा मार्फत एक बर्षको अवधिमा भएका विकासका कार्यक्रमहरु र आगामी गर्नुपर्ने कार्यका बिषयमा जानकारी दिएका थिए । 

वडाध्यक्ष पौडेलले वडाको भौगोलिक, धार्मिक तथा पर्यटकीय, सामाजिक विकास, स्वास्थ्य क्षेत्र, सुशासन ब्यवस्थापन, औद्योगिक अवस्था, भौतिक निर्माण तथा पूर्वाधार, कृषि तथा पशुपन्छी क्षेत्रको अवस्था, शहरी विकास, वाताबरण तथा फोहोरमैला ब्यवस्थापन र राजश्व संकलनका बारेमा भएका विकास र गर्नुपर्ने बिकासका बारेमा जानकारी गराएका छन् ।  

वडाध्यक्ष पौडेलले प्रस्तुत गरेको २०७९ जेठदेखि २०८० बैशाख मसान्तसम्मको वडाको तथ्याङ्क अनुसार वडामा ४ वटा मावि तहका बिद्यालय र ५६ वटा उद्योगहरु सञ्चालनमा छन् । वडाका बाटाघाटाहरु मर्मत, सम्भार र सुधार भइरहेको बताउँदै वडाध्यक्ष पौडेलले चारपाने राजगढ सडक, रामचोक कुमालबाडी सडक बीरअम्बरसिंह माबिसम्म कालोपत्रे भएको बताए । 

btm 2

त्यस्तै बानालाल मार्ग त्रिशुलीचोक जाने सडकको डिपिआर गरी योजना पेश गरिएको, प्रभुलाल मार्गदेखि नयाँनगर हुँदै चारपाने शनिश्चरे सडकसम्म जोडिने गरी सडकको कालोपत्रे निर्माण अन्तिम चरणमा रहेको उनले बताए । त्यसैगरी अन्य वाटाहरु पनि निर्माणका चरणमा रहेको उनले जानकारी दिए । 

कृषिलाई निर्वाहमुखी अवस्थाबाट क्रमश सुधार गर्दै आर्थिक उपाजनको स्रोतको रुपमा बिकास गर्न ब्यवसायिक कृषि प्रणालीतर्फ किसानहरुलाई तालिम र प्रशिक्षण दिने उदेश्यले बिभिन्न तालिम दिएको, कृषकलाई आवश्यक उपकरणलगायत सामाग्री बितरण गरिएको वडाध्यक्ष पौडेलले प्रस्तुत गरेको विवरणमा उल्लेख छ । 

वडाले विभिन्न शिर्षकमा २०७९ जेठदेखि २०८० बैशाख मसान्तसम्म ७२ लाख ३४ हजार २ सय ५४ रुपैयाँ ५९ पैसा राजश्व संकलन गरेको वडाध्यक्ष पौडेलले जानकारी दिएका छन् । बिर्तामोड–२ का वडाध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्य रहेको थियो । 

कार्यपालिका सदस्य तीला गौतमले स्वागत गरेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सरोज पौडेलले गरेका थिए । कार्यक्रममा वडाका जनप्रतिनिधि, वडाका ३२ वटा टोल विकास समितिका प्रमुख तथा प्रतिनिधिलगायको उपस्थिति रहेको थियो ।