अर्जुनधारा ।

अर्जुनधारा  नगरपालिकाले नदीजन्य सामग्री ब्यवस्थित तवरले मात्र ढुवानी गर्न दिने भएको छ । सडकमा असुरक्षा बढेको भन्दै नगरले नदीजन्य सामग्री ढुवानीमा कढाई गर्ने भएको हो । 

ब्यवसायीले अब नदीजन्य सामग्री नगरका सडकबाट पानी चुहाउदै ढुवानी गर्न पाउने छैनन् । यसअघि ब्यवसायीले त्यो प्राबधान पालना गर्नु परेको थिएन । 

खासगरी ट्याक्टर र ट्रिपरले नदीजन्य सामग्री ढुवानी गर्दा पानी जम्मा हुने प्रविधि जडान गर्नु पर्नेछ । ‘यो प्रविधि जडानका लागि ब्यवसायीलाई तीन महिनाको समय उपलब्ध गराएका छौ’ नगरप्रमुख बलदेब सिंह गोम्देनले भने ‘त्यस अवधिमा उहाँहरुले यो काम गरेर नगरपालिकाको योजनामा  सहयोग गर्नुहुनेछ, अन्यथा हामीले ट्राफिक प्रहरीलाई यस बारेमा जानकारी गराएका छौ । ट्राफिकले नियमन गर्छ ।’

ट्रिपर, ट्याक्टरको ट्रलीबाट चुहिने पानीका कारण सडकहरु छिट्टै बिग्रीने, मोटसाईल, स्कुटी, अटो र सिटी सफारी जस्ता साधनमा यात्रा गर्ने मानिसहरुलाई समस्या हुने गरेकाले धादिङ, काठमाडौं रुटमा चल्ने ट्रिपरहरुले सडकमा चुहिने पानी नियन्त्रणमा लागि अपनाएको प्रबिधि जडान गरी ढुवानी गर्न नगरले ब्यवसायीलाई आग्रह गरेको छ । उक्त प्रबिधि आगामी भदौ मसान्तसम्म जडान गरिसक्नु पर्ने नगरले ब्यवसायीलाई आग्रह गरेको छ । 

नगरपालिकामा आज (बुधवार) भएको ट्रिपर, ट्याक्टर, क्रसर ब्यवसायी, पत्रकार, ट्राफिक प्रहरी, नगरबिच भएको छलफलमा ब्यवसायीहरुले उक्त प्रबिधि जडान गर्ने सहमती जनाएका छन् ।  निर्माण ब्यवसायी भवानी बरालले सडक, ब्यवसायी र  सुरक्षाका लागि यो प्रविधि प्रभावकारी हुने बताए । यसका लागि धेरै रकम नलाग्ने भन्दै बरालले सबै ब्यवसायीले यो नियम पालना गर्ने बताए । 

अर्का ब्यवसायी चन्द्र गौतमले पनि असोज पहिलो सातादेखि सामग्री ढुवानी गर्दा नगरले अघि सारेको नयाँ नियम पालना गरिने बताए । 

कार्यक्रममा ट्याक्टर ब्यवसायी संघका अध्यक्ष इन्द्रबहादुर मगर, जिल्ला ट्राफिक प्रहरी असई यामखड्का लगायतले बोल्दै सडकको स्थायित्वको लागि अघि सारिएको यो योजना प्रभावकारी रहने बताएका थिए । कार्यक्रममा जय घटाल उद्योगका मनोज खड्का, पाथिभराका सुरेन श्रेष्ठ, शान्तिका चन्द्र गौतमलगायतको पनि उपस्थिति रहेको थियो । 

त्यसैगरी नगरपालिकाले नगर क्षेत्रभित्र १० चक्के हाइवा सञ्चालनमा रोक लगाउने तयारी गरेको छ । नगरभित्र ३० एमएमको मात्र सडक भएकाले लोड थाम्न नसक्ने भएकाले हाइवा सवारी साधानलाई रोक लगाउने तयारी गरिएको बताइएको छ । अर्जुनधारा नगरहुँदै हिड्ने त्यस्ता हाइवा सवारी साधनका लागि बाइपास करिडोर रोडको डिपिआर सम्पन्न भइ बजेटका लागि माग गरिएको नगर प्रमुख बलदेबले जानकारी दिए ।