लक्ष्मीपुर  । 

झापामा अलग–अलग समय र आर्थिक, सामाजिक, राजनीतिक र साँस्कृतिक बदलावले खाली हुँदै गरेको पूर्वी पहाडको सानो गाउँको जनजीवनको कथालाई समेटिएर तयार पारिएको ‘खरानीको धागो’ नाटक मञ्चन हुने भएको छ । 

आयोजक आर्ट स्टुडियोले नाटक आगामी जेठ २३ देखि ३० गतेसम्म बिर्तामोडस्थित हिमाल सागर रिसोर्ट एण्ड पार्टी प्यालेस राम चौकमा हुने बिहीवार (आज) पत्रकार सम्लेलनको आयोजना गरी जानकारी दिइएको हो । गार्डेन थिएटर काठमाडौँ, कदम थिएटर दमक, परिवर्तन थिएटर कॉकडभिट्टा झापा र चुलाचुली रंगमञ्च चुलाचुली इलामको सहकार्यमा नाटक मञ्चन हुने भएको छ । 

दिनको तीन वटा शो मञ्चन हुने नाटक एक घण्टा ५ मिनेटको रहेको नाटकका लेखक तथा निर्देशक चे शंकरले जानकारी दिए । नाटककमा शान्तादेवी पौड्याल, गोमादेवी बिमली, अम्बिका श्रेष्ठ, पुनम पराजुली, गीता कैसी उप्रेती, सुशिला दाहाल, निर्मिक भट्टराई, मनकुमार योङहाङ, सिद्धिका दाहाल, दीपक खरेल, माधवप्रसाद पौड्याल, रुद्र ओली, कृष्णमाया बुढाथोकीलगायतका कलाकारहरुले अभिनय गर्नेछन् । 

‘खरानीको धागो’ नाटकमा लोप हुँदै गरेको लोक विचरण, संगीत र संस्कृतिलाई समेट्ने कोशिस गरिएको जनाइएको छ । नाटकमा बालुन, संगिनी, फेरी जगाउने रीति र झ्याउरे संगीत प्रयोग गरिएको आर्ट स्टुडियोकी अध्यक्ष शान्तादेबी पौडेलले बताइन् । 

लेखक र निर्देशन चे शंकरले कथा नालापानीको, मेमोरी यार्ड, मिस्टर फक्स एण्ड स्कुल स्वई लगायतका नाटक लेखेका जनाइएको छ । 

आर्ट स्टुडियो सबै कलाकर्मीहरूको समूह भएको जनाइएको छ । यसले रंगमञ्चसँगै साहित्य र कलाका विभिन्न आयामहरूमा रहेर काम आर्ट स्टुडियोको सुसेली कला समूह, महिला नौमती बाजा संरक्षण र सम्बर्धनको विषयमा काम गरिरहेको छ । उक्त स्टुडियोले तीन वर्ष अगाडि नाटक ’रुवा’ को सफल मञ्चन गरेको अध्यक्ष पौडेलले बताइन् ।

बालबालिकामा कल्पनाशीलता र रचनात्मक शिल्पको विकास गर्ने, नाटकमा प्रयोग हुने सेट, भेषभुषा, लाइट, पुरानो भेषभुषा, कला र संस्कृति सबैको मानसपटलमा पुनर्ताजकी गर्ने, बालबालिका र नयाँ पुस्तालाई लोकभाका, संगीत र जीवनशैली बारे जानकारी दिने, कला र संस्कृतिको संरक्षण गर्ने, कला, संस्कृति र पौराणिक कुराहरु संरक्षण गर्नु पर्छ भन्ने चेतना फैलाउने, स्कुलका विद्यार्थी, शिक्षक र अभिभावकलाई नाटक र यसको महत्वबारे जानकारी दिने र दर्शकमा विदेश भन्दा पनि नेपालीपन र नेपालमै केही गर्नु पर्छ भन्ने भावना जागृत गर्ने उदेश्यले नाटक मञ्चन गरिन लागेको बताइएको छ ।

पत्रकार सम्मेलनमा साहित्य चौतारी झापाका संरक्षक देबीभक्त श्रेष्ठ, सामाजिक ब्यक्तित्व देबीप्रसाद संगौलालगायतको उपथिति रहेको थियो । पत्रकार सम्मेलनको सञ्चालन सञ्चारकर्मी सरोज पौडेलले गरेका थिए ।