बिर्तामोड । 

नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) मेचीनगर नगरपालिका–६ काँकरभिट्टा झापाले सिटिसी चिया बजारमा ल्याएको छ । संस्थाले आइतवार (आज) बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी संस्थाको पाँँचौ व्यवसाय अन्तरगतको एउटा युनिटको रुपमा सिटीसी चिया प्याकेजिङ उद्योग सञ्चालनमा ल्याएको जनाएको हो ।

आगामी बर्ष दुईलाख केजी तयारी चिया उत्पादन गर्ने उदेश्यसहित सञ्चालनमा आएको उद्योगले आज सिटीसी चिया प्याकेजीङ सार्वजनिक गरेको छ । चिया व्यवसाय अन्तर्गत एनएमसीले हालै सिटिसी चिया प्याकेजिङ उद्योग सञ्चालनसँगै टी ब्राण्डमा पाँच सय र दुईसय ग्रामका प्याकेट बजारमा ल्याएको हो । एनएमसीले चियाका पारखीहरुका लागि अर्थोडक्समा ब्ल्याक टी, ग्रिन टी र टी ब्यागमा उपलब्ध गराएको छ । 

सिटिसी चियामा नेपाली बगानबाट उत्पादित उत्कृष्ट तथा ताजा चियाको छनोट साथै विज्ञको परामर्श र रोहबरमा मिश्रण गरी उपभोक्ताको चाहना अनुसारको कडा र छिटो रङ आउने चिया बजारमा ल्याएको संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले बताए । 

सिटीसी चिया गुणस्तरीय तथा सस्तो मूल्य समेत रहेको संस्थाले दावी गरेको छ । सिटीसी चियाले पारखी उपभोक्ताको मन जित्न सक्ने संस्थाको बिश्वास रहेको छ । 

ctc tea

 २०५० सालमा स्थापना भएको संस्थाले सहकारीको आदर्श, मूल्य मान्यता र सिद्धान्त अनुरूप निरन्तर झापा, मोरङ र इलाम जिल्लालाई कार्यक्षेत्र बनाएर कार्य सम्पादन गर्दै आएको छ । संस्थाले बचत तथा ऋण, डेरी उद्योग, कृषि फार्म, सहकारी पसल र चिया उद्योग गरी पाँच वडा ब्यवसाय सञ्चालन गरिरहको छ ।

संस्थाले १६ बिगाहा जमिन खरिद र १० बिगाहा जमिन भाडामा लिएर कृषि फार्म पनि सञ्चालन गरिरहेको छ । त्यस्तै एनएमसीले हाल १६ स्थानमा  सहकारी पसल सञ्चालन गरिरहेको अध्यक्ष उप्रेतीले बताए । एनएमसीको पछिल्लो व्यवसायको रूपमा झापाको मेचीनगर–५ स्थित सुरेन्द्रनगरमा एनएमसी चिया उद्योग शुरु भएको जनाइएको छ  । 

चिया व्यवसाय विस्तारका क्रममा इलामका सांघुवेंसी, सिद्धपोखरी र इलामेली तीनवटा चिया सहकारी संस्थासँग एकीकरण गरी किसानद्वारा उत्पादित हरियो चिया पत्ति खरिद र प्रशोधन गर्ने गरिएको अध्यक्ष उप्रेतीले जानकारी दिए । 

संस्थाले आर्थिक वर्ष २०७८/२०७९ मा ७५ हजार केजी तयारी अर्थोडक्स (ग्रिन टी र ब्ल्याक टी) चिया उत्पादन गरेर स्वदेशी र विदेशी बजारमा बिक्री गरेको जनाइएको छ । पत्रकार सम्मेलनमा संस्थाका चिया बिज्ञ कमल भारती, संस्थाकी बरिष्ठ उपाध्यक्ष भगवती मैनाली, चिया ब्यवसाय प्रमुख रबिन्द्र पाण्डेलगायतको उपस्थिति रहेको थियो ।