मेचीनगर। 

झापाको मेचीनगरमा संचालित धाइजन−दुहागढी सांस्कृतिक तथा सांगीतिक महोत्सवमा चर्चित हास्यब्याङ्ग्य कलाकार मनोज गजुरेल आउने भएका छ्न् । 

दैनिक रास्ट्रिय र स्थानीय कलाकारको बेजोड प्रस्तुति हुँदैआएको महोत्सवमा हास्यब्यङ्यका नायकको रुपमा चर्चा कमाएका मनोज गजुरेलले सोमबार साँझ आफ्नो प्रस्तुति देखाउने कार्यक्रम तय गरिएको आयोजकले जनाएको हो  । 

आज आइतबार साँझ स्थानीय युवा र ब्याण्डको प्रस्तुति रहेको छ ।२७ गते शनिबार प्रख्यात कलाकार ज्योति मगरको प्रस्तुतिले महोत्सव प्रवेशीको सङ्ख्या ह्वात्तै बढेको आयोजकको भनाई छ । 

जेठ २२ देखि सुरु भएको महोत्सवमा स्थानीय र रास्ट्रिय कलाकारको कला प्रस्तुतिले आगन्तुक दर्शनको घुँइचो बढेको हो । शिव परियार, जिवब, लाहुरे, श्रीकृष्ण लुइँटेल, प्रिती आले, कमल खत्री, रचना रिमाललागायतका दर्जनौं कलाकारको बेजोड प्रस्तुति रहने महोत्सवको ठेकेदार गणेश राउतले बताए । 

स्थानीय क्षेत्रको पहिचानलाई प्रर्वद्धन गर्ने उद्देश्यले तार्केश्वर महादेव बाबा बैजनाथधाम ओमकार नरनारायण आध्यात्मिक प्रतिष्ठानद्वारा आयोजना गरिएको हो । स्थानीय उत्पादनको प्रवर्द्धनका लागि २० वटा स्टल तय गरिएको छ भने आगन्तुकलाई भरपुर मनोरंजन गराउन रोटेपिङ, रेलचडी, घुम्ने कार, जम्पलगायतका खेलतमासाको ब्यवस्थापन गरिएको छ ।