हल्दिबारी । 

झापाको हल्दिबारी गाउँपालिकाले असार १० गते आइतबारदेखी भारतबाट आयातीत मरेका माछा बेचविखनमा रोक लगाउने भएको छ । गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनका अनुसार कार्यपालिकाको वैठकले हल्दिबारी गाउँपालिका भित्र रहेका सवै हाटबजारमा भारतबाट ल्याइएका माछालाई प्रतिवन्ध गर्ने निर्णय गरिएको हो ।

‘हल्दिबारीको बाचा झापा भरी माछा’ भन्ने गाउँपालिकाको नारालाई सार्थक बनाउँदै जन्तालाई स्वास्थ्य, ताजा माछा प्रयोग गर्नको लागि भारतबाट ल्याइने मरेका माछाको बिक्रि वितरणगर्न रोक लगाउने निर्णय सहित स्थानिय प्रहरीलाई परिपत्र गरिएको अध्यक्ष लिङ्देनले बताए ।

हल्दिबारीका माछा किसानहरुसँग सहकार्य गरी त्यहाँका माछा उपभोक्ताहरुलाई ताजा माछा खुवाउँन ब्यवस्था मिलाउने समेत अध्यक्ष लिङ्देनले बताए । सरकारले प्रतिवन्ध गरेको मागुर माछा समेत बजारमा बिक्रि वितरण भएकोले त्यसलाई समेत बेचविखनको लागि गाउँपालिकाले रोक लगाउने भएको छ ।

स्थानिय प्रहरी प्रसाशान र जनप्रतिनिधि मार्फत माछा ब्यवसायीलाई जानकारी दिने काम गरिएको र कसैले पालिकाको निर्णयलाई अवज्ञागरी बेच बिखन गरेको पाईएमा माछा जफत गरि ब्यवसायिलाई कडा कार्यवाही गरिने समेत गाउँपालिकाले जनाएको छ ।

पालिकाकी उपाध्यक्ष लक्ष्मीदेबी मैनालीका अनुसार हल्दिबारी १, २ र ४ मा कृषि बजार रहेको र ५ मा पनि कृषि बजार बनिदै गरेकाले बजारलाई थप ब्यवस्थित बनाइने छ । भारतबाट आउने मरेका माछा र सागशब्जी बन्द गर्नु पर्ने पालिकामा धेरै गुनासाहरु आएकाले छलफल गरेर रोक लगाउने निर्णय गरिएको उपाध्यक्ष मैनालीले बताइन् । पालिका भित्र रहेका माछा, मासु र शब्जी पसलको चाँडै अनुगमन गरी ब्यवस्थित गरिने उनले जानकारी दिइन् ।  पालिका भित्र उत्पादन हुने माछा र साग शब्जीले बजार नपाएको भन्दै गुनासा आउन थालेपछि पालिकाले त्यस्तो निर्ण गरेको जनाइएको छ ।