मेचीनगर । 

झापाको मेचीनगर नगरपालिकाका विद्यालयलाई शुद्ध खानेपानीका लागि फिल्टर प्लान्ट वितरण गरिएको छ । नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको पहलमा मेचीनगरका ६ वटा माध्यमिक विद्यालयलाई बुधबार स्वच्छ खानेपानीको लागि फिल्टर प्लान्ट वितरण गरिएको हो । 

इन्भारमेन्ट प्रोटेक्सन सेन्टर नेपाल (इपिसी) को प्राविधिक सहयोगमा करिब ७ लाख मूल्य पर्ने एक हजार लिटर क्षमताको अत्याधुनिक फिल्टर आदर्श मावि इटाभट्टा, धुलाबारी मावि धुलाबारी, बालसुबोधोनी मावि दुहागढी, शहिद दशरथचन्द मावि चारआली, कवि शिरोमणि मावि खुट्टेडाँगी र इष्ट होराइजन अंग्रेजी मावि धुलाबारीलाई वितरण गरिएको छ । 

आदर्श मावि परिसरमा आयोजना गरिएको कार्यक्रममा उपप्रमुख मीना पोख्रेल उप्रेती, मेचीनगर शिक्षा शाखा प्रमुख होम भण्डारीलगायतले सम्बन्धि विद्यालयका प्रअ तथा व्यवस्थापन समिति अध्यक्षलाई फिल्टर वितरण गरेका हुन् । 

यसअघि नगरको विभिन्न वडामा इपिसीले सुधारिएको चुलो वितरण गरिएको बताउँदै झापा प्रतिनिधि अमर मेचेले अहिले विद्यालयमा शुद्ध खानेपानीका लागि फिल्टर प्लान्ट उपलब्ध गराइएको बताए । 

कार्यक्रममा आदर्श मावि व्यवस्थापन समितिका अध्यक्ष पुर्ण खड्का, पुर्व अध्यक्ष अर्जुन पोख्रेल, अभिभावक संघ अध्यक्ष भोला तिम्सिना र प्रअ कृष्ण पुरी, धुलाबारी माविका प्रअ महेन्द्रविलास लुइँटेल, बालसुबोधोनी मावि व्यवस्थापन समिति अध्यक्ष शंकरलाल राजवंशी, प्रअ विश्व थापा, शहिददशरथ चन्द मावि व्यवस्थापन समिति अध्यक्ष केदार बुढाथोकी, प्रअ लेखनाथ पोडेल, इष्ट होराइजन अंग्रेजी माविका संयोजक तुलसी घिमिरेलगायतको सहभागीता रहेको थियो ।