बिर्तामोड । 

झापाका एक ब्यक्ति फिल्म ‘जिरो’ को कथा तयार पारेर अभिनेता दयाहाङलाई भेट्न खोजिरहेका छन् । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ३ स्थित खुदुनाबारीका मणि लिङदमले अभिनेता राईलाई सुहाउँदो फिल्म लेखेकाले उनलाई भेट्न खोजेको बताएका छन् । उनी केही दिन अघि बिर्तामोडमा भेटिएका थिए ।

लिङदमले अभिनेता दयाहाङलाई भेट्टाइदिने एक साथीले बताएपछि बिर्तामोड आएको भएपनि साथी बाहिर रहेकाले भेट्टाउन नसकेको बताए ।  २० बर्ष अघिदेखि बिभिन्न नाटक र फिल्म लेख्दै आएका लिङदमको प्रचारप्रसारमा पहुँच नपुग्दा ३ वटा नाटक मञ्चन भएपनि उनले लेखेका फिल्म भने अहिलेसम्म कुनैपनि नभएको बताए ।

२०६३ सालमा नाटक इलामको लारुम्वा, अर्को नाटक झापाको दमकमा र तेस्रो नाटक इलामको इभाङमा मञ्चन भएको उनले बताएका छन् । उनका अनुसार हाल उनीसँग ८/१० वटा नाटक तयारी अवस्थामा रहेको र फिल्म ‘जिरो’ को कथा तयारी अवस्थामा छ । 

प्रेमका कारण आत्महत्या गर्ने युवायुवतीलाई प्रेम दर्शन दिने उदेश्यले फिल्म जिरोको कथा लेखेको लिङदमले बताएका छन् । २०४० सालमा इलामको साङरुम्वामा जन्मिएका उनी हाल अर्जुनधारा–३ स्थित खुदुनावारीमा किसानका रुपमा रहँदै आएको बताउँछन् ।