सुरुङ्गा । 

झापाको कनकाई नगरपालिका वडा नम्बर ३ स्थित सुरुङ्गामा सञ्चालित प्यारागन एकाडेमीले सांस्कृतिक प्रतियोगिताका तीनवटै बिधामा पहिलो स्थान हासिल गरेको छ । 

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाले दमकमा गत पुस २ र ३ गते आयोजना गरेको जिल्ला स्तरीय सांस्कृतिक प्रतियोगिता अन्तर्गत नृत्यका तीन वटै  विधामा प्रथम स्थान हासिल गरेको हो ।

प्यारागन एाडेमीले आधुनिक, राष्ट्रिय र सांस्कृतिक नृत्यमा प्रथम स्थान हासिल गरेको विद्यालयले शुक्रबार (आज) पत्रकार भेटघाट गरी जानकारी दिएको हो । एउटै विद्यालयले तीनवटै विधामा प्रथम स्थान हासिल गरेको पहिलो रेकर्ड भएको  कनकाई नगर प्याब्सन अध्यक्ष बिनोद सुब्बाले बताएका छन् । 

pyaragan

प्याब्सन झापाले दमकमा आयोजना गरेको प्रतियोगितामा कक्षा ५ सम्मका विद्यार्थीले आधुनिक, कक्षा ८ सम्मका विद्यार्थीले राष्ट्रिय र कक्षा ९ देखि माथिकाले लोक साँस्कृतिक विधा नृत्य प्रतियोगितामा गरेको थियो । उक्त प्रतियोगितामा तीनवटै बिधामा प्यारागन एकाडेमीले प्रथम स्थान हासिल गरेको पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको छ । 

२०६४ सालमा स्थापना भएको बिद्यालयमा कक्षा १० सम्म पढाइ हुँदै आएको जनाइएको छ । बिद्यालयमा ७०३ जना विद्यार्थी र शिक्षक कर्मचारी गरेर ५७ जना रहेको विद्यालयका भाइस प्रिन्सिपल डिल्ली सिटौलाले जानकारी दिए । आउने शैक्षिक सत्रदेखि कक्षा ११ सञ्चालनको तयारी गरिएको बताइएको छ । 

प्याब्सनले आयोजना गर्ने प्रदेश र केन्द्रका प्रतियोगितामा पनि पहिलो हुने लक्ष्य लिइएको नृत्य निर्देशक दिवस गिरीले बताएका छन् ।

पत्रकार भेटघाट कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा संस्थापक चम्पा खनाल सुबेदी, भ्वाइस प्रिन्सिपल डिल्ली सिटौला, संयोजक चेतन भण्डारी, पूर्व शिक्षक अर्जुन उप्रेतीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन  बिद्यालयका सञ्चार सदस्य राम निरौलाले गरेका थिए ।