भद्रपुर । 

रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान भद्रपुरले कनकाई माध्यमिक बिद्यालयमा अध्ययनरत आधारभूत तहका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । प्रतिष्ठानले आइतवार कनकाई–३ स्थित कनकाई माविमा कक्षा–१ देखि ८ कक्षासम्म अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । कार्यक्रममा ५० जना विद्यार्थीलाई जुत्ता, मोजा र स्वीटर वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले जानकारी दिए।

विद्यालयका प्रधानाध्यापक कर्णबहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख शिवाकोटी, विशिष्ठ अतिथि कमलप्रसाद पोखरेल, कनकाई–३ का वडाध्यक्ष युवराज चम्लागाईं, आमा समूह अध्यक्ष सरिता चिमरिया लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

उनीहरुले प्रतिष्ठानले गरेको कार्य उदाहरणीय र प्रशंसनीय भएको उल्लेख गरेका थिए ।  वक्ताहरुले यस प्रकारको कामले विपन्न बालबालिकालाई शिक्षा आर्जनमा मद्दत पुग्नुका साथै समाज रुपान्तरणमा मद्दत मिल्ने विश्वास व्यक्त गरे । कार्यक्रममा दिलीपकुमार खतिवडा, गोपीकृष्ण भट्टराई, चन्द्रप्रसाद शिवाकोटी, खेमराज भट्टराई, प्रतिष्ठानकी संस्थापक सदस्य शारदादेवी ओली, उर्मिला ओली, सदस्य निमेश ओली लगायतको उपस्थिति रहेको थियो ।

यसअघि प्रतिष्ठानले झापा गाउँपालिका र शिवसताक्षी नगरपालिकाका दुई वटा विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री एवम् न्यानो कपडा वितरण गरिसकेको प्रतिष्ठानका कोषाध्यक्ष यज्ञराज ओलीले जानकारी दिए । शिक्षा र सामाजिक क्षेत्रमा धेरै योगदान दिनुभएका रुद्र ओलीको पदचापलाई पछ्याउँँदै सामाजिक कार्य गर्ने उद्देश्यले २०६७ सालमा स्थापना गरिएको प्रतिष्ठानमार्फत् एक करोड रुपैयाँको कोष खडा गरेर वार्षिक रुपमा सामाजिक काम गरिँदै आएको प्रतिष्ठानका सचिव नारायण ओलीले बताए।