बिर्तामोड ।

झापाको बिर्तामोड –५ मा रहेको बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले २४ औ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाको कार्यालय परिसरमा शनिवार भएको बार्षिक साधारणसभामा उपभोक्तादेखि लिएर कर्मचारीसम्म सम्मानीत भएका छन् ।  

संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत उपभोक्ता र कर्मचारीलाई सम्मान गरेको छ । सम्मानित हुनेहरूमा उपभोक्ताको तर्फबाट बिर्तामोड नगरपालिका–३ का ७८ वर्षीय लक्ष्मीप्रसाद ओली र बिर्तामोड–५ की ८१ वर्षीय विष्णुमाया गुरुङ रहेका छन् । त्यस्तै लामो समय संस्थामा कर्मचारीको रूपमा कार्यरत नरप्रसाद कट्टेललाई पनि सम्मान गरिएको संस्थाका व्यवस्थापक खडगराज गिरीले जानकारी दिए ।

संस्थाका अध्यक्ष बास्तोलाले आफ्ना कार्यकालमा भएको प्रगति विवरणसहितको प्रतिवेदन गर्दै आर्थिक बर्ष ०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । अध्यक्ष बास्तोलाले संस्थाका समस्या तथा चुनौतीहरु, दीर्घकालीन सोच तथा भावी योजनाहरु, खानेपानीको गुणस्तर तथा नियमित आपूर्ति, बोरिङ, मोटर तथा वितरण प्रणालीको व्यवस्थापन, पूर्वाधार विकास तथा सेवा विस्तार, आर्थिक व्यवस्थापन तथा वित्तिय पारदर्शीता, डिजिटल प्रविधि तथा उपभोक्ता सेवा सुधार, जलस्रोत संरक्षण तथा वातवरणीय सरसफाई, उपभोक्ता सहभागीता तथा जनचेतना, जोखिम व्यवस्थापन तथा आकस्मीक सेवा, अनुगमन मूल्याङ्कन तथा कार्यन्यवनका बिषयमा जानकारी गराएका थिए ।

अध्यक्ष बास्तोलाले संस्थाका पाँच वटा स्किमबाट १४ वटा समर्सिबल पम्पले दैनिक २ करोड २५ लाख लिटर पानी उत्पादन गरी उपभोक्ताहरुलाई २४ घण्टा पानी उपलब्धगराएका बताए । आगालगीबाट हुन सक्ने जनधनको क्षतिलाई न्यूनीकरण गर्न बारुणयन्त्रलाई आवश्यक पर्ने पानी उपलब्धताका लागि मुक्तीचोकमा फायर हाइडेन्ट राखिएका र आवश्यकता अनुसार अन्य क्षेत्रमा पनि विस्तार गरिने बताए ।

विगतमा बिछाइएका साना पाइपहरूलाई प्रतिस्थापन गर्दै ठूला पाइपहरू  बिछाउने कार्य भइरहेको र आवश्यकता अनुसार अन्य क्षेत्रमा विस्तार गर्ने योजना रहेको, तथा  जथाभावी रूपमा जग्गाको प्लटिङ बाटो निर्माणका क्रममा पाइपलाइनमा अत्याधिक क्षति पुग्ने गरेको अध्यक्ष बास्तोलाको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै संस्थाकी कोषाध्यक्ष शारदा रिजालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा आर्थिक बर्ष  ०८२/८३ मा विभिन्न शीर्षकबाट कुल आय  ९ करोड ६० लाख  ५९ हजार ६१५ रुपैयाँ १० पैसा, कुल व्यय ८ करोड १९ लाख १८ हजार ५६ रूपैयाँ ०१ पैसा  भई सञ्चालन बचत १ करोड ४१ लाख ४१ हजार ५५९ रूपैयाँ ०६ पैसा रहेको छ । आर्थिक बर्ष ८३/८४ को सुरुमा बैंक तथा नगद मौज्यात गरी  ६ करोड २५ लाख ९२ हजार ८५२ रुपैयाँ ६३ पैसा रहेको कोषाध्यक्ष रिजालको प्रतिवेदनमा उल्लेख छ । संस्थाको लेखा प्रतिवेदन लेखा समिति संयोजक बिष्णुप्रसाद चुडालले प्रस्तुत गरेका थिए ।

संस्थाका अध्यक्ष मेघराज बस्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला खानेपानी कार्यालय भद्रपुरका प्रमुख सुमन भट्टराईको प्रमुख आतिथ्य रहेको थियो ।  

कार्यक्रममा प्रमुख अतिथि सुमन भट्टराई, सल्लाहकार लोकबन्दु कन्दङ्वा, जिल्ला समन्वय समिति झापाकी उपाध्यक्ष शान्ता रोक्का, बिर्तामोड आँखा अस्पतालका अध्यक्ष तथा संस्थाका निवर्तमान अध्यक्ष जलकुमार गुरुङ, बिर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाई, राष्ट्रिय स्वतन्त्र पार्टी बिर्तामोड नगर अध्यक्ष दीपक दिनेश दाहाल, नेपाली कांग्रेस बिर्तामोड नगर सभापति कुलप्रसाद संग्रौला, राष्ट्रिय प्रजातन्त्र पार्टी नगर अध्यक्ष लक्ष्मी गौतम, नेपाल त्रिकार महासंघ झापा उपाध्यक्ष सुव्रत न्यौपानेलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष शैलेन्द्र संग्रौलाले स्वागत तथा सचिव पारसमणि मैनालीले सञ्चालन गरेका थिए । संस्थाले आगामी कार्य कालका लागि यही मङ्सिर १४ गते  निर्वाचन मिति तय गरेको छ ।