झापा ।
प्रमुख श्रम गन्तव्य मलेसियाको रोजगारी बन्द हुँदा खाडी क्षेत्रका परम्परागत गन्तव्यमा पनि नेपाली श्रमिक जाने क्रममा ठुलो गिरावट आएको छ । यसले मलेसियासँग नेपालको बार्गेनिङ शक्तिलाई कमजोर बनाउने त होइन भन्ने प्रश्न उठाएको छ । नेपाली म्यानपावर कम्पनी छनोटमा विवाद भएपछि नेपाली कामदारको भर्ना निलम्बनमा परेको घटनालाई मलेसियाका सञ्चारमाध्यमहरूले पनि महत्वका साथ समाचार प्रकाशन गर्न थालेका छन् ।
मलेसियाको प्रमुख सञ्चारमाध्यम मध्येको एक ‘दि स्टार’ले आफ्नो अनलाइन संस्करणमा अक्टोबर १ मा मलेसियाली मानव संसाधन मन्त्रालयले नेपाली श्रमिकको बायोमेडिकल स्वास्थ्य परीक्षण निलम्बन गरेपछि नयाँ कलिङ भिसा जारी गर्ने काम प्रभावकारी रूपमा रोकिएको उल्लेख गरेको छ ।
मलेसियामा विदेशी कामदार व्यवस्थापन गर्ने बेस्टिनेट एसडिएन बिएचडीद्वारा सञ्चालित विदेशी कामदार केन्द्रीकृत व्यवस्थापन प्रणालीमा भिसा प्रशोधनका लागि नेपालका ३६ मान्यता प्राप्त मेडिकल केन्द्रबाट स्वास्थ्य परीक्षण गरिएका रिपोर्ट आवश्यक पर्छ । बेस्टिनेटले मलेसियाद्वारा छनोट गरिएका २५ मुख्य र उनीहरू मातहतका १०÷१० सहायक कम्पनी प्रणालीमा सक्रिय भएपछि मात्र बायोमेडिकल दर्ता प्रक्रिया अगाडि बढ्ने व्यवस्था गरिएको बताएको छ ।
तर नेपालले २५ एजेन्सीको छनोट मलेसियाको एकतर्फी निर्णय र नेपाली कानुनविपरीत भएको भन्दै आपत्ति जनाएर उनीहरूमाथि कानुनी कारबाही सुरु गरेको छ । मलेसियासँगको यो विवाद मध्यपूर्वमा जारी भूराजनीतिक अस्थिरताले परम्परागत श्रम बजारलाई प्रभावित गरिरहेको अवस्थामा देखिएको छ । समाचारमा ‘दि स्टार’ले अघिल्ला वर्षहरूको तुलनामा प्रमुख खाडी गन्तव्यका लागि नेपाली श्रमिकको प्रस्थान ५२.१२ प्रतिशतले घटेको उल्लेख गरेको छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार संयुक्त अरब इमिरेट्स (युएई) मा ५९.०५ प्रतिशत, साउदी अरबमा ५७.०२ प्रतिशत, कतारमा ३५.०८ प्रतिशत, कुवेतमा ४२.९३ प्रतिशत र बहराइनमा ४५.४९ प्रतिशतले घटेको छ ।
गत आर्थिक वर्ष मलेसियाले १ लाख ३२ हजार नेपाली कामदारलाई रोजगारी दिएको थियो । त्यसले क्षेत्रीय युद्धका कारण अस्थिर बनेको खाडी क्षेत्रको श्रम बजारका लागि महत्वपूर्ण विकल्प प्रदान गरेको थियो । रोजगार विज्ञहरूले मलेसियामा पहुँच गुमाउनुले नेपालको आर्थिक स्थिरतामा गम्भीर क्षति पुर्याउने बताएका छन् ।
प्रतिक्रिया 0