सुरुङ्गा । 

झापाको कनकाई नगरपालिका वडा नम्बर–२ स्थित सुकेडाँगीको कनकाई–विर्ता–अर्जुन नविकरणीय उर्जा तथा फोहोर मैला व्यवस्थापन कम्पनीले फोहोर वर्गिकरण (सेग्रीगेसन) मेसिन सञ्चालनमा ल्याएको छ ।

कनकाई, अर्जुनधारा र बिर्तामोड नगरपालिकाले विश्व बैंक र निजी क्षेत्रसँगको साझेदारीमा फोहोरमैलाबाट बायोग्यास उत्पादन गर्ने उदेश्यले स्थापना गरेको कम्पनीले कुहिने र नकुहिने फोहोर वर्गिकरण (सेग्रीगेसन) गर्ने कार्यका लागी मेसिन सञ्चालनमा ल्याएको हो । भारतको अहमदावादबाट ल्याइएको सो मेसिन करिब ८८ लाख रुपैयाँको लागतमा खरिद गरेको बताइएको छ ।   

 कम्पनीका अध्यक्ष मदनगोपाल सुव्वाको अध्यक्षतामा भएको एक संक्षिप्त कार्यक्रमका विच कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, बिर्तामोड नगरपालिकाकी  प्रमुख पवित्रा महतारा प्रसाई, अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुली र कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटीले संयुक्त रुपमा बटम थिचेर सेग्रीगेसन मेसिनको उद्घाटन गरेका हुन् ।

  उद्घाटन समारोह कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल,  विर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाई, अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीलगायतले आ–आफ्नो भनाई राखेका थिए । कम्पनीमा कुहिने फोहोरबाट बायोग्यासको उत्पादनसँगै जैविक मल समेत उत्पादन भइरहेको मेकानिकल कन्सल्टेन्ट इन्जिनियर मोहम्मद नसिमअलिले जानकारी दिए । 

कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटी, संचालक समितिका पूर्व अध्यक्ष मिनाल तिम्सिना, पुर्व प्रवन्ध निर्देशक दिपक चापागाईँसहित तीनवटै पालिकाबाट विभिन्न वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यसहितका जनप्रतिनिधिहरु, मुख्य राजनीतिक दलका तर्फबाट तीनवटै पालिकाका प्रमुख तथा प्रतिनिधिहरु लगायत सरोकारवाला उपभोक्ताहरुको उल्लेख्य सहभागीता रहेको थियो । कम्पनीका सञ्चालक सदस्य समेत रहेका कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले स्वागत गरेको औपचारिक कार्यक्रमको सञ्चालन कम्पनीका प्रबन्ध निर्देशक लक्ष्मीप्रसाद अधिकारीले गरेका थिए ।