सुरुङ्गा । 

झापाको कनकाई—६ स्थित चम्पापुर माध्यमिक बिद्यालयले विभिन्न सांस्कृतिक प्रस्तुती हित विद्यालयको ६० औं वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिनमाया बस्नेत (सीता) को अध्यक्षतामा भएको कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको थियो भने नगर उपप्रमुख आशा शिवाकोटीको विशेष आतिथ्य रहेको थियो ।सोहीअवसरमा विद्यालयमा स्थापना भएको करिब एक दर्जन अक्षयकोषबाट बिपन्न, जेहेन्दार तथा उत्कृष्ट विद्यार्थीहरु पुरस्कृत साथै सम्मानित भएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख पोखरेलले नगर क्षेत्रमा गुणस्तरीय शिक्षा प्राप्तीका लागि विभिन्न विधामा विद्यार्थीलाई अब्बल बनाउँने उद्येश्य अनुरुप नगरपालिकाले कार्य सम्पादन गर्दै आएको बताए । जनप्रतिनिधिले स्थानीय तहको जिम्मेवारी सम्हाले यता नगरको शैक्षिक विकासमा भएको प्रगतिका कारण यो सात वर्षको अवधिमा कनकाई नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयहरुमा मात्रै ११ सय विद्यार्थीको संख्या वृद्धि भइसकेको नगर प्रमुख पोखरेलले जानकारी दिए । नगर क्षेत्रका अभिभावक एवं शिक्षकहरुको योगदानका कारण पनि यो उपलव्धी हात परेको नगर प्रमुख पोखरेलको ठहर छ ।

 पछिल्लो समय प्रविधिमैत्री बन्दै गएका अधिकांश सामुदायिक विद्यालयहरुले स्थानीय सरकारको पहलमा अंग्रेजी माध्यमलाई समेत प्राथमिकतामा राख्दै अघि बढेको जानकारी दिँदै नगर प्रमुख पोखरेलले नगरपालिकाले पढ्दै कमाउँदै गर्ने गरी विद्यार्थीलाई आत्मनिर्भर बनाउँने गरीको कार्यक्रम सञ्चालन गरेको जानकारी दिए ।

कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटी, कनकाई वडा नं.६ का वडाअध्यक्ष दीर्घवहादुर थापा, वडा नं.७ का वडाध्यक्ष भिष्मभुषण सिटौला लगायतले विद्यालयको सफलताको शुभकामना व्यक्त गरेका थिए । विद्यालय व्यवस्थापन समितिका सदस्य खगेन्द्र आचार्यले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक मोहन काफ्लेले गरेका थिए ।