शिवसताक्षी । 

झापाको शिवशताक्षीमा विद्यालय तहका शिक्षक शिक्षिकालाई परिवर्तित पाठ्यक्रम तथा पाठ्यपुस्तकमा आधारित प्रबोधिकरण  गराइएको छ । शिक्षण सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यका साथ विषय विज्ञ सहजकर्ताद्वारा प्रबोधीकरण गराइएको हो । यो कार्यक्रम मङ्गलबारदेखि सुरु भएको छ। 

शिवसताक्षी नगरपालिकाको आर्थिक सहयोगमा कक्षा ४ देखि १० सम्म अध्यापन गराउने शिक्षक शिक्षिकालाई प्रवोधिकरण गराइएको शिवसताक्षी नगरपालिका शिक्षा शाखाका प्रमुख छवि ढकालले बताए । उनका अनुसार सामाजिक, नेपाली, अङ्ग्रेजी र गणित/विज्ञान विषय अध्यापन गराउने शिक्षकलाई प्रबोधिकरण गराइएको हो। प्रबोधिकरण भनेको कुनै विषयमा बोध गराउने वा विषयवस्तु प्रसार गर्ने हो। 

राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयको हातामा रहेको स्रोत केन्द्र भवनमा सञ्चालित सो कार्यक्रममा कक्षा ४ र ५ का १, ६ ७ र ८ बाट १ र ९ र १० बाट ४ गरेर १०५ शिक्षक शिक्षिकालाई चार समूहमा विभाजन गरी तीन दिनसम्म प्रवोधिकरण गराइने शिवसताक्षी नगरपालिकाको शिक्षा शाखाले जनाएको छ। 

शिक्षा शाखाका प्रमुख ढकालका अनुसार पहिलो चरणमा सामुदायिक विद्यालयका विषयगत शिक्षक शिक्षिकालाई मात्र प्रबोधिकरणमा सहभागी गराइएको छ। दोस्रो चरणमा एकीकृत पाठ्यक्रम अन्तर्गत कक्षा १ देखि ३ सम्मका सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक शिक्षिकालाई पनि सहभागी गराइनेछ ।

विषय विज्ञ शिक्षकहरू श्रीप्रसाद खरेल, रमेश कुमार दाहाल, फडिन्द्र चेम्जोङ, हरिप्रसाद तिम्सिना र कमल भट्टराईले परिवर्तित पाठ्यक्रमका विषयमा शिक्षक शिक्षिकालाई प्रबोधिकरण गराइरहेका छन् । 

शिक्षा शाखाका प्रमुख छवि ढकालको अध्यक्षतामा भएको कार्यक्रम शिवशताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ थोप्राको प्रमुख आतिथ्य रहेको थियो । उनले समय–समयमा शिक्षक शिक्षिकाले पेसागत अभिवृद्धि, भाषा विकास र विद्यार्थी लक्षित कार्यक्रमका माध्यमबाट शिक्षण सिकाइलाई प्रभावकारी बनाउन नगरपालिकाले आर्थिक योगदान पुर्‍याएको बताए । प्रबोधीकरणले शिक्षण सिकाइलाई सहज एवम् प्रभावकारी बनाउन योगदान पुर्यायाउने उनको भनाइ छ । 

नगर शिक्षा अधिकारी  ढकालले पाठ्यक्रम तथा पाठ्यपुस्तक अध्यापन गराउनका लागि प्रबोधीकरण आवश्यक महसुस गर्दै कार्यक्रम आयोजना गरिएको बताए । उनले यस्ता कार्यक्रमले वर्षेनी निरन्तरता पाउने पनि जानकारी दिए। 

प्रबोधीकरणले शिक्षणसिकाइको गुणस्तरीयता अभिवृद्धिमा पनि सहयोग पुग्ने विषय विज्ञ सहजकर्ताले विश्वास गरेका छन् । शिक्षा शाखाका प्राविधिक सहायक मिलन बिष्टले स्वागत गरेको कार्यक्रमको सञ्चालन अर्का प्राविधिक सहायक सरोज अधिकारीले गरेका थिए।