बुधवारे । 

झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ ले सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विशेष योजना सुभारम्भ गरेको छ । सामुदायिक बिद्यालयका कमजोर विद्यार्थीका लागि टोलटोलमा क्लोज क्याम्प शुरू गरेको हो । क्लोज क्याम्प वडाका विभिन्न ९ ठाउँमा हुनेछन् । वडाको नमूना आधारभूत बिद्यालयले क्लोज क्याम्प आजबाट शुरू गरेको छ भने बाँकी दुई सामुदायिक बिद्यालयले क्याम्प सञ्चालनको तयारी गरेका छन् ।

क्लोज क्याम्पका लागि वडाका तीनवटै बिद्यालयलाई वडाले बजेट विनियोजन गरेको छ । क्याम्प कम्तीमा २ महिना संचालन हुने वडाध्यक्ष अनिल वाग्लेले बताए । अंग्रेजी, गणित र बिज्ञान विषयमा कमजोर देखिएका आधारभूत तहका विद्यार्थीलाई क्याम्पमा राखेर शिकाई उपलब्धि हासिल गर्ने योजनाका साथ वडाले बजेट विनियोजन गरेको वडाध्यक्ष वाग्लेको भनाई छ । 

उनले योजनाले ९ जनालाई अल्पकालीन रोजगारी सृजना गरिएको पनि जानकारी दिए । सामुदायिक बिद्यलयका धेरै विद्यार्थीका अभिभावक अर्थिक रूपमा कमजोर भएको र त्यस्ता विद्यार्थीका लागि जनप्रतिनिधिले नै अभिभावकत्व ग्रहण गर्नुपर्ने वडाध्यक्ष वाग्लेको बुझाई छ ।

विद्यालय व्यबस्थापन समितिका अध्यक्ष विरेन्द्रकुमार घतानीले वडाले शिक्षामा गरेको लगानी सह्रानीय भएको बताउँदै आगामी दिनमा समेत यस्ता किसिमका कार्यक्रमलाई प्राथमिकता दिन आग्रह गरेका थिए । उनले राज्यको लगानी यसरी सही ठाउँमा सदुपयोग भएकाले अभिभावकले आफ्ना छोराछोरीलाई उक्त कक्षामा नियमित गराउन समेत आग्रह गरेका छन् ।

विद्यालय व्यबस्थापन समितिका अध्यक्ष घतानीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा वडा सदस्य लक्ष्मी कडेल, मोहनकुमार राई, शिक्षक अभिभावक संघका अध्यक्ष लेखनाथ खतिवडा, पत्रकार उमाकान्त खनाल, बुद्धशान्ति प्रेस क्लबका अध्यक्ष तीर्थराज तिम्सिना लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन प्रधानाध्यापक गायत्रा ढुंगेलले गरेकी थिइन् ।