विर्तामोड । 

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ झापाले विद्यालय हाताबाट व्यावसायिक रूपमा कुनैपनि शैक्षिक सामग्री बिक्री वितरण नगर्न आग्रह गर्दै झापाका सवै पालिकामा ध्यानाकर्षण गराएको छ । 

झापाका कतिपय विद्यालयहरुले व्यावसायिक रुपमा विद्यालय हाताबाट शैक्षिक सामग्रीको खुलेआम बिक्री वितरण गरिरहेको पाइएकोले त्यस्तो कार्य तत्काल बन्द गर्न महासंघले आग्रह गरेको हो । 

जिल्लाका ६ वटा स्थानिय तहका प्रमुख, शिक्षा अधिकारी लगायतलाई आइतबार ज्ञापन पत्र बुझाएको महासंघ झापाले जनाएको छ । 

महासंघले गौरिगञ्ज, कमल गाउँपालिका,   दमक, गौरादह, कनकाई र शिवसताक्षी नगरपालिका शिक्षा अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । बाँकी रहेका पालिकामा सोमबार ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको महासघका अध्यक्ष विनोद सापकोटाले जानकारी दिएका छन् । 

संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ (संशोधन सहित) परिच्छेद ४.४ को ७ मा विद्यालयहरू आफैंले पाठ्यपुस्तक तथा स्टेशनरी बिक्री वितरण गर्न नपाउने, विद्यालयबाट निर्धारित ड्रेस कोडको नमुना विद्यार्थीलाई उपलब्ध गराउनुपर्ने र विद्यालयले तोकेको स्थानमा पोसाक खरिद गर्न विद्यार्थीलाई बाध्य नगराउने भन्ने व्यवस्था छ ।