बिर्तामोड । 

मोफसलकै प्रतिष्ठित तथा लोकप्रिय फुटबल प्रतियोगिता झापा गोल्डकपको तयारी शुरु गरिएको छ ।  झापा गोल्डकपको छैटौँ संस्करणका रुपमा आगामी फागुन १९ देखि २८ गतेसम्म बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा गोल्डकप सञ्चालनको तयारी गरिएको हो । 

झापा गोल्डकप आयोजक समितिले मंगलबार (आज) बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै गोल्डकपको तयारीका बिषयमा जानकारी दिएको हो । प्रतियोगितामा आयोजकको तर्फबाट झापा ११ फुटबल क्लबसहित नेपालका सात र विदेशी तीन गरी १० वटा टिमको सहभागिता रहने झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेतले बताएका छन् । 

 यसबर्ष झापा गोल्डकपको विजेता टिमले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने अध्यक्ष बस्नेतले जानकारी दिए । अध्यक्ष बस्नेतका अनुसार मस्ट भ्यालुएवल प्लेयरलाई एकथान मोटरसाइकल प्रदान गरिनेछ । प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ पाउनेछन् । 

उद्घाटन समारोहमा झापा जिल्लाका एकजना पुराना फुटबल खेलाडीलाई नगद २५ हजारसहित सम्मान गरिनेछ र  रंगशालाको जग्गादाता डोमालाल राजवंशीको परिवारलाई पनि नगद २५ हजार रुपैयाँ सहयोग प्रदान गरिने अध्यक्ष बस्नेतले जानकारी दिए  । 

प्रतियोगिता सञ्चालनको लागि एक करोड ४० लाख रुपैयाँ लागत आयोजकले अनुमान गरेको छ । प्रतियोगिता झापाको शान भएकाले सवैलाई साथ र सहयोगको लागि आयोजकले आग्रह गरेको छ । 

jhapa goldcup

प्रतियोगिता सञ्चालनको लागि महासचिव गजेन्द्रबहादुर पौडेलकोे नेतृत्वमा ६ सदस्यीय सचिवालय गठन गरिएको छ । सदस्यमा केशव भट्टराई, विशाल नेम्वाङ, हिमाल खरेल, भूमिका सुब्बा र चन्द्र तिम्सिना चयन भएका छन् । आवश्यकताअनुसार अध्यक्षले थप दुईजना सचिवालय सदस्य  चयन गर्न सकिने जनाइएको छ । साथै, अन्य विभागहरु गठन गरी सदस्यहरु थप गरिने आयोजकले जनाएको छ ।   

झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेतको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बरिष्ठ उपाध्यक्ष बलराम कार्कीले स्वागत गरेका थिए भने महासचिव गजेन्द्रबहादुर सञ्चालन गरेका थिए । कार्यक्रममा संरक्षक जलकुमार गुरुङ, कोषाध्यक्ष केदार गिरी, सल्लाहकार मदनगोपाल सुब्वा, झापा जिल्ला फुटवल संघका भगिरथ आले (मामा) लगायतको उपस्थिति रहेको थियो । 

काठमाडौँबाहिर सबैभन्दा बढी फुटबलको गतिविधि हुने जिल्लाको रुपमा रहेको झापा जिल्लालाई फुटबल हबको रुपमा विकसित गराउने उदेश्यले २०७२ सालबाट झापा गोल्डकप शुरु गरिएको थियो ।